२२ आश्विन २०८१, मंगलबार | Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डुबान रोक्न नाला निर्माण



चितवन । वर्षातका समयमा यहाँका धेरै सरकारी कार्यालय डुबानमा पर्ने गर्दछन् । कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ ।

भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समितिको कार्यालय लगायतका कार्यालय वर्षातका समयमा डुबानमा पर्ने गरेका छन् ।

यीसँगै रहेका ‘गेष्टहाउस’ चौर पनि वर्षातभर पानी जम्ने गर्दछ । यसका कारण नियमित सेवा प्रवाह प्रभावित हुने गरेको छ । ती क्षेत्रमा डुबान रोक्नका लागि यसवर्ष ढल निर्माण थालिएको छ । वर्षातका समयमा पानी जम्ने समस्या बढेपछि भरतपुर महानगरपालिका–१० मा ढल निर्माणको कामलाई तीव्र बनाइएको छ ।

अधिकांश सरकारी कार्यालय रहेको यस वडामा वर्षात सुरु भएसँगै पानी जमेर निकास नहुँदा समस्या बन्दै आएको थियो । डुबानमा पर्न थालेसँगै वडा नं १० ले दुई स्थानबाट पानीको निकासका लागि ढल व्यवस्थापन गर्न लागेको हो । महानगरपालिकाको रु एक करोड ६७ लाखको लागतमा काम भइरहेको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।

एकातर्फको ढल चौबिसकोठी र अर्को तर्फको बाइपास रोडको थानिचोकमा निकासका लागि नाली बनाउन लागिएको हो । १ दशमलब ५ किलोमिटर नाली वनाएर जम्ने पानीको व्यवस्थापन गर्न लागिएको उनले बताए । यस क्षेत्र हुँदै जाने नारायणी लिफ्टका नहर अतिक्रमण भएपछि पानी जम्ने समस्या बढेको हो ।

यस क्षेत्रका नहर मिचेर सडक र भौतिक संरचना निर्माण भएका छन् । महानगरका अन्य क्षेत्रमा पनि ढल निर्माणका लागि गुरुयोजनाको काम भइरहेको छ । रासस

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *