२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरियाले ल्यायो झण्डै ८० करोडको बजेट

आन्तरिक आय ७८ लाख ६ हजार ४ सय ६७ रुपैयाँ



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ७९ करोडको बजेट सार्वजनिक गरेको छ ।

आइतबार आयोजित गाउँपालिकाको १२ औं गाउँसभामा उपाध्यक्ष गणेशराज गिरीले आगामी आर्थिक वर्षका लागि ७९ करोड ८६ लाख १३ हजार १ सय २४ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट गत आर्थिक वर्षभन्दा करिब ३ करोड बढी हो ।

जसअन्तर्गत संघीय सरकारबाट प्राप्त हुने निसर्त अनुदान (वित्तीय समानिकरण अनुदान) ११ करोड ३ लाख, सशर्त अनुदान चालुतर्फ १४ करोड २३ लाख, सशर्त अनुदान पुँजीगततर्फ २ करोड ३२ लाख, विशेष अनुदान पुँजीगततर्फ ५ करोड १० लाख, समपूरक अनुदान २ करोड र राजस्व बाँडफाँडबाट ९ करोड ३३ लाख ८ हजार ६ सय रुपैयाँ आम्दानी हुने गाउँपालिकाको अनुमान छ ।

प्रदेश सरकार वित्तीय समानिकरणबाट ९४ लाख ८ हजार, विशेष अनुदान ७० लाख, समपूरक अनुदान ६० लाख, राजस्व बाँडफाँडबाट २३ लाख ६१ हजार प्राप्त हुने जनाइएको छ । त्यस्तै, गाउँपालिकाको आन्तरिक स्रोत १ करोड ५० लाख र अन्य श्रोतबाट प्राप्त रोयल्टी १ करोड गरी २ करोड ५० लाख आन्तरिक राजस्व संकलन हुने अनुमान गरिएको छ ।

यस्तै, विभिन्न संस्थाहरूबाट कार्यक्रमका लागि १ करोड ७७ लाख ३३ हजार ६ सय ४ रुपैयाँ प्राप्त हुने र बैङ्क मौज्दात ८ करोड ६८ लाख ५१ हजार ९ सय २० रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० का लागि अनुमान गरिएको कुल बजेट ७६ करोड ७० लाख ५५ हजार कुल आम्दानी अनुमान गरिएकोमा २०८० जेठ मसान्तसम्म ५१ करोड ५३ लाख ५५ हजार २ सय ३४ रुपैयाँ मात्र प्राप्त भएको उपाध्यक्ष गिरीले जानकारी दिए ।

२०८० जेष्ठ मसान्तसम्म चालुखर्च ८१.७१ प्रतिशत र पुँजीगत तर्फको ७७ प्रतिशत खर्च भएको समेत जनाएको छ । गाउँपालिकामा आन्तरिक आय (राजस्वबाट प्राप्त) ७८ लाख ६ हजार ४ सय ६७ रुपैयाँ पुगेको छ । गाउँपालिकाले सामाजिक विकासतर्फ ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ भन्ने नारासहित सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी एवं शिक्षक सरुवालाई व्यवस्थित गरिने नीति लिएको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । सबै विद्यालयमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइएको छ । स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर उपाध्यक्ष गिरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि आउँदो असार १४ गते बस्ने गाउँसभाको बन्दसत्रमा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने उपाध्यक्ष गिरीको भनाइ छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *