कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले एक वर्षको अवधिमा खाना तथा विविधतर्फ १० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक २०७८/०७९ मा खाना तथा विविधतर्फ करिब १० लाख खर्च गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
पालिकाको कुल आन्तरिक आय २ करोड ५ लाख २० हजार २ सय ९२ रुपैयाँ अर्थात् आन्तरिक आयको ४.८७ प्रतिशत रकम खाना तथा विविधमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ ।
महालेखाले सोहीअनुसार खर्च गर्न पनि सुझाव दिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा खानामा ३० लाख खर्च गरेको गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख कम खर्च गरेको हो । यो अनुपात चालु आर्थिक वर्ष २०७९/०८० मा अझै कम हुने अपेक्षा गरिएको छ ।
महालेखाको सुझावअनुसार दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि र पालिकाका कर्मचारीले गाउँपालिकाको रकमबाट होटेलमा खाना नखाएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमकाअनुसार हालसम्म गाउँपालिकाको रकमबाट कुनैपनि जनप्रतिनिधि वा कर्मचारीले होटेलमा खाना खाएका छैनन् ।
वडाध्यक्ष गौतम भन्छन्, ‘हामी जिम्मेवारीमा आइसकेपछि महालेखाको सुझावलाई आत्मसाथ गर्दै अतिथि सत्कारबाहेक खाना खाने गरेका छैनौँ । हालसम्म कुनैपनि जनप्रतिनिधि वा कर्मचारीले गाउँपालिकाको रकमबाट होटेलमा खाना खाएको रेकर्ड छैन । बैठकमा पनि कालो चिया बाहेक खाँदैनौ ।’
हरेक वर्ष स्थानीय तहमा महालेखाले वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण र लेखा टिप्पणीहरुको परीक्षण गर्दै आएको छ । वित्तीय विवरणको शुद्धता, प्रचलित कानुनको पालना, बजेट तथा योजना तर्जुमा एवं कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जिम्मेवारी जवाफदेहिता एवं पारदर्शिता र सेवा प्रवाह प्रभावकारी भए, नभएको विश्लेषण गरी वित्तीय व्यवस्थापन सुधारको रायसहित प्रतिवेदन दिँदै आएको छ ।

प्रतिक्रिया