२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधार विकासका कुन क्षेत्रमा मार्दैछ बर्दगोरियाले फड्को?

यस्ता छन् एकवर्षे उपलब्धि



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले पूर्वाधार विकास निर्माणका क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा भएको उपलब्धिको समीक्षा गर्दै पालिकाले आगामी वर्ष विकासका लागि महत्वाकांक्षी योजनासमेत अघि सारेको हो ।

आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उपाध्यक्ष गणेशराज गिरीले आइतबार विकासको खाकासँगै गाउँ सरकारको एकवर्षे उपलब्धि प्रस्तुत गरे । जसअनुसार एक वर्षमा गाउँपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सडक, खानेपानी तथा सिंचाईका क्षेत्रमा लक्ष्य अनुरुप उपलब्धि हासिल गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकामा ६.१३६ किलोमिटर सडक कालोपत्रे गरेको छ । १०.८६ किलोमिटर सडकमा ग्राभेल गरेको छ । ५.३०० किलोमिटर धुले वा कच्ची सडक निर्माण भएको जनाएको छ । गाउँपालिकाको सबै वडाहरुमा सडकको पहुँच पुगेको बजेट नीति तथा कार्यक्रममार्फत् प्रगति विवरण सार्वजनिक गरिएको छ ।

गाउँपालिकाका सबै वडामा कुल २ सय हेक्टरमा भूमिगत सिंचाई सुविधा पुगेको र यसलाई आगामी आर्थिक वर्षमा थप बढावा दिई कृषकहरुलाई जुनसुकै समयमा पनि सिंचाई सुविधा उपलब्ध गराउने उपाध्यक्ष गिरीले बताए ।

भ्रष्टाचार शुन्य सहनशीलताको नीति

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रममा उपाध्यक्ष गिरीले सुन्दर, समुन्नत र सम्वृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प र गाउँबासीको सम्वृद्धिको चाहना पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘जनप्रतिनिधिले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने प्रण गरेकाले वित्तीय अनुशासनमा सुधार आउने कुरामा म विस्वस्त छु ।’

उनले स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दीगो स्थानीय आर्थिक विकासमार्फत् सम्वृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्वजनिक, निजी क्षेत्र र समुदाय साझेदारी विकास गरिने लक्ष्य लिइएको उनले बताए ।

यस्तै, बर्दगोरियामा १५ शैयाको अस्पताल निर्माण भई सेवा सुचारु भएको, प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य इकाई निर्माण भई सञ्चालनमा आएको र चारवटा वडाहरुमा वर्थिङ सेन्टर निर्माण भई सेवा सुचारु हुने अवस्थामा रहेको जानकारी दिए । पालिका अन्तर्गतका १७ वटै सामुदायिक विद्यालयहरुमा पूर्ण निशुल्क शिक्षा लागू गरि विद्यालय बाहिर रहेका सबै नागरिकको शिक्षामा पहुँच पुर्‍याइएको उनले बताए ।

बर्दगोरियामा बर्दगोरिया कलेज सञ्चालन गरी शैक्षिक विकासको रणनीति अघि सारिएको छ । गाउँपालिकामा २५ मिलोमिटर कृषि सडक निर्माण भएको र प्रत्येक वडाहरुमा एकवटा तरकारी संकलन केन्द्र निर्माण गर्ने नीति लिइएको छ । ‘वडाको पायक पर्ने स्थानमा कृषि हाटबजार र एउटा ठूलो शीतगृहको निर्माण गरी कृषकको उत्पादनलाई खेर जान नदिने गरी व्यवस्था मिलाउने नीति लिएको छु,’ उपाध्यक्ष गिरीले भने, ‘कृषि सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरिएको छ ।’

सुशासन तथा संस्थागत विकासतर्फ गाउँपालिकाले १५ वटा ऐन, २५ वटा नियमावली, २७ वटा कार्यविधि र ७ वटा मापदण्डहरु तर्जुमा गरि कार्यान्वयनमा ल्याएको उनले सो अवसरमा जानकारी दिए । सुशासन कायम राख्न योजनाको अनुगमन, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई लगायतका गतिविधिलाई प्राथमिकतामा दिँदै आएको उनले बताए ।

बर्दगोरिया गाउँपालिका अन्तर्गत रहेका १६ वटा सामुदायिक वनमा उपयोग र संरक्षणसहितको वैज्ञानिक वन व्यवस्थापनका अभ्यासहरु प्रारम्भ भएतापनि कार्यान्वयनमा आउन नसकिएकाले स्थानीय सरकारले आफै नीति बनाई कार्यान्वयन गराइनेतर्फ विषेश जोड दिएको उनको भनाइ थियो ।

गाउँपालिकाबाट प्रवाह हुने योजना, लेखा, नक्सा, राजस्व, आर्थिक कारोबार लगायत सूचना प्रविधिमैत्री बनाउन लागेको भन्दै सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी कागजबिहीन अर्थात् ‘पेपरलेस’ पालिका बनाउन विद्युतीय प्रणालीमा जोड दिइएको उनको दाबी छ ।

गाउँपालिकाको योजनाअनुसार सडकको दायाँबाँयातर्फ रुखहरु लगाई वातावरण स्वच्छ राखिने योजना अघि सारिएको छ । दीगो फोहर व्यवस्थापनमासमेत ध्यान दिएर काम अगाडि बढेको छ । गाउँपालिकाभित्र भु–उपयोग नीति लागू गर्दै आवास तथा बस्ती विकास, भवन तथा सार्वजनिक निर्माण लगायत पूर्वाधार व्यवस्थित र गुणस्तरीय सञ्चालनमा गाउँपालिकाले ध्यान केन्द्रित गरेको छ । यसका लागि भौतिक विकास गुरुयोजना निर्माणको तयारीमा लागेको गिरीले बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले हरेक दिन २ देखि ३ हजार युवा रोजगारीको खोजीमा नेपाल छोडेर विदेशिनुपर्ने अवस्था रहेको भन्दै युवा उद्यमशीलता विकास कार्यक्रम मार्फत् युवालाई ‘विदेश होइन, विजनेस’ भावना जागृत गराई स्वदेशमै स्वरोजगार उन्मुख गराउने बताए ।

गाउँपालिका अध्यक्ष कुँवरले विज्ञको सुझाव र आवश्यकताअनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाए । पालिका अध्यक्ष कुँवरकाअनुसार गाउँपालिकाभित्र पर्यटकीय स्थलहरु जोड्न सडक पूर्वाधार र विद्युतिकरणको पहुँच पुर्‍याइने छ । विभिन्न जातजातिको ऐतिहासिक, धार्मिक, साँस्कृतिक पहिचान अवगत गराउन पर्यटकहरुलाई ‘होमस्टे’ सहित स्थानीय अर्गानिक तरकारी र अन्य खाद्य उत्पादन पाहुनाको रुपमा राख्न सकिने गरी गाउँपालिकाले योजना अघि सारिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको आन्तरिक आयतर्फ १ करोड ५० लाख संकलन हुने अनुमान गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म ७८ लाख ६ हजार ४ सय ६७ रुपैयाँ रावस्व संकलन भएको जनाइएको छ । प्राकृतिक स्रोतबाट प्राप्त रकम ३८ लाख ३५ हजार २ सय रुपैयाँ विभाज्य खातामा आम्दानी बाँधिएको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० का लागि अनुमान गरिएको कुल बजेट ७६ करोड ७० लाख ५५ हजार कुल आम्दानी अनुमान गरिएकोमा २०८० जेठ मसान्तसम्म ५१ करोड ५३ लाख ५५ हजार २ सय ३४ रुपैयाँ मात्र प्राप्त भएको उपाध्यक्ष गिरीले जानकारी दिए ।

२०८० जेष्ठ मसान्तसम्म चालुखर्च ८१.७१ प्रतिशत र पुँजीगत तर्फको ७७ प्रतिशत खर्च भएकोसमेत जनाएको छ । आउँदो आर्थिक वर्षमा राजस्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरिक राजस्व स्रोतको दायरामा वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *