कैलाली । नेपाली कांग्रेस बर्दगोरियाले रोपाइँ कार्यक्रम गरेर असार १५ अर्थात् ‘२० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ मनाएको छ ।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २० औँ राष्ट्रिय धान दिवस मनाएको हो । कांग्रेस गाउँ कार्यसमिति बर्दगोरियाका सभापति कृष्ण बिष्टको सभापतित्वमा सुरु भएको राष्ट्रिय धान दिवसमा पूर्व शिक्षा राज्यमन्त्री एवं महासमिति सदस्य मोहनसिंह राठौर प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति बिष्णु ढकाल, सचिव बृजेश रावल, लम्कीचुहा नगरसभापति इन्द्रबहादुर कुँवर, महासमिति सदस्य वीरबहादुर चौधरी लगायत क्षेत्र, नगर, गाउँ र वडा कार्यसमितिका पदाधिकारीसहित नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेकोे थियो ।
सो अवसरमा पूर्वमन्त्री मोहनसिंह राठौरले कृषि क्षेत्रमा वातावरण अनुकूलता हुनेगरी कृषि आधुनिकीरणमा जोड दिँदै खाद्यान्न आयात प्रतिस्थापनमा ध्यान दिनुपर्ने बताए । कृषि उत्पादन वृद्धि गर्न आधुनिक खेतीप्रणाली अवलम्बन गर्दै कृषिमा राज्यको लगानी र लगानीअनुसार प्रतिफल प्राप्त हुने गरि परनिर्भरता हटाएर आत्मनिर्भरतामा जोडदिन आवश्यक रहेको उनले बताए ।
‘कृषि क्षेत्रमा कृषि उपजसमेत आयात गर्नुपर्ने विडम्बना छ,’ पूर्वमन्त्री राठौरले भने, ‘कृषि उत्पादनको वृद्धिका लागि हामी सबैले समाजमा अगुवाई गर्ने, सामाजिक क्षेत्र, संघसंस्था, पार्टीका तर्फबाट भूमिका निर्वाह गर्ने, कृषि क्षेत्रका समस्यालाई उजागर गर्ने र अर्थतन्त्र बलियो बनाउनका लागि पनि लाग्नेछौँ भन्ने विश्वास लिएको छु ।’
सो अवसरमा उनले सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि अभियानमा लाग्नुपर्ने बताए । किसानले मल र बिउँ पाउनका लागि पनि ठूलो संघर्ष गर्नु परिरहेको उनले बताए ।
‘कृषकलाई रासायनिक मल र सिँचाइ को अभाव हुन नदिन समयमै राम्रो प्रबन्ध मिलाउन सबैले योगदान दिनुपर्छ । कृषि उपज बजारको अवस्था उस्तै छ,’ उनले भने, ‘अर्बौ रुपैयाँको चामल विदेशबाट आयात गर्नु परिरहेको छ । उन्नत जातको बिउँ मिल्दैन, आवश्यकता अनुसार मल छैन । उर्बराशक्ति बढाउन के गर्न सकिन्छ? किसानलाई कृषि उपज, बिउँबिजन, उपकरणसँगै सीपमूलक तालिमसमेत दिइनुपर्छ ।’
सो अवसरमा उत्पादन र उत्पादकत्व दीगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार–प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल गर्नुपर्ने उनले बताए ।
नेपालको तराईलाई कृषि क्षेत्रमा अन्न भण्डारको रूपमा चिनिन्छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि असार १५ मा दही, चिउरा र आँप खान्छन् ।
तरपनि, यहाँ आकाशे पानीको भरमा धानखेती गर्नुपर्ने बाध्यतामा रहेका किसानका लागि यसवर्ष समयमै वर्षा सुरु नहुँदा धान रोपाइँ ढिलो गरि सुरु भएको छ । मौसमले साथ नदिएका कारण रोपाइँ सुरु हुन ढिलाई भएको कृषि प्राविधिकले जनाएका छन् ।
प्रतिक्रिया