२२ बैशाख २०८१, शनिबार | May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरियाले मनायो २० औँ राष्ट्रिय धान दिवस, कस्तो छ पालिकाको कृषि नीति?




कैलाली ।
कैलालीको बर्दगोरियामा स्थानीय सरकारले यसवर्ष पनि रोपाइँ कार्यक्रम गरेर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाएको छ । विगतका वर्षहरुमा नियमित रुपले मनाउँदै आएको धान दिवस यसपटक पनि कृषिशाखा अन्तर्गतको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमलाई पूर्णता दिँदै मनाइएको हो ।

यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय धान दिवस मनाइएको छ । शुक्रबार गाउँपालिकाको वडा नं.२ दोघरामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, उपाध्यक्ष गणेशराज गिरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम, वडा नं. २ का वडाध्यक्ष गोविन्द विक., वडा नं. ४ का वडाध्यक्ष जगतबहादुर शाही, कार्यपालिका सदस्य, शाखा प्रमुख र स्थानीय समाजसेवी लगायतको बृहत सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले स्थानीय सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएको बताए । उनले कृषि क्षेत्रलाई नै अघि बढाउनुपर्छ भन्ने मान्यता स्थानीय सरकारको रहेको बताए । ‘नेपालमा कृषि क्षेत्रमा सरकारको सहयोग र अनुदानको कमी छ, जस्तो मलाई लाग्छ,’ उनले भने, अरुभन्दा बर्दगोरियालाई कृषि क्षेत्र घोषणा गरेर एउटा ठूलो कोल्ड स्टोर स्थापना गर्न लागिएको छ ।’

उनले कृषि क्षेत्र नै देशको एकदमै सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले भने, ‘यहाँको माटोको उर्वराशक्ति पनि धेरै छ । त्यसैले कृषि क्षेत्रमा ध्यान दिनुपर्छ भनेर हामी लागिरहेका छौँ ।’ उनले युवाहरुलाई विदेश जानुभन्दा सकेसम्म कृषि क्षेत्रमा लगानी गरी काम गर्न सुझाब दिए ।

त्यस्तै, बर्दगोरिया गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष मिथुन गौतमले सिँचाइको समस्या समाधान गर्न स्थानीय सरकारले सिँचाइको ठूलो परियोजना ल्याउन पहल गरिरहेको बताए । धान दिवसमा सेल्फी खिच्ने र रोपाइँ औपचारिकतामा मात्रै सीमित हुन नहुने उनले बताए ।

‘हामी सबै किसानकै छोरा हो, हिजोदेखि नै हामी खेतीपाती गर्दै आएका छौँ । खेती समयमै लाउनुपर्छ । अहिले मानो रोपेर मुरी उब्जाउने बेलामा सबै आउनुपर्छ तर, पानीको अभाव भएकाले बोरिङ, नल्का, डिप ट्युवेलमापानी सुकिरहेको छ । रानीजमरा कुलरियाँ सिँचाइ आयोजनालाई छिटोभन्दा छिटो बर्दगोरिया गाउँपालिकामा ल्याउनुपर्छ भन्ने हाम्रो माग छ ।’

उनले जलवायु परिवर्तनका कारण डिप ट्युवेल तथा पानीको मुहान सुकेर समयमै रोपाँइ हुन नसकेको बताए । समयमै वर्षा नहुँदा आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानहरु मर्कामा परेको उनको भनाइ छ ।

कस्तो छन् पालिकाको कृषि नीति?

बर्दगोरियामा स्थानीय सरकारले आउँदो वर्ष कृषि उपजको आयात प्रतिस्थापनको नीति लिई कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउँदै व्यावसायिकरण गरिने जनाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा उच्च मूल्यका फलफुल तरकारी, तथा अन्नबालीको पकेट क्षेत्रहरु पहिचान गरी ती स्थानहरुमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गरिने स्थानीय सरकारको लक्ष्य छ ।

त्यस्तै, रैथाने बालीहरुको बिउँ संरक्षण, खेती विस्तार, बजारीकरणको लागि विषेश प्रबन्ध मिलाइने छ । कृषि पकेट क्षेत्रमा सिँचाइ, कृषि सडक, विद्युतिकरण, कृषि बजार, शित भण्डार तथा गोदाम घरहरुको पूर्वाधार निर्माण गरिने स्थानीय सरकारले लक्ष्य अघि सारेको छ ।

गत वर्षमा पालिकाका सबै वडाका २ सय हेक्टर क्षेत्रफलमा भुमिगत सिँचाइ सुविधा पुर्याइएकोमा यसलाई थप विस्तार गर्दै लैजाने भनिएको छ । पशुपन्छी तथा पशुजन्य उत्पादनका लागि व्यावसायिक रुपमा गाई, भैँसी, बाख्रा, बंगुर, कुखुरा तथा माछापालनमा जोड दिइएको छ ।

सिँचाइ असुविधाले रोपाइँ न्यून

कैलालीमा यसवर्ष रोपाइँ अझैपनि न्यून रहेको छ । सिँचाइ असुविधाका कारण किसानले असार १५ सम्म थोरै रोपाइँ गरेका हुन् । जिल्लामा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिए । उनकाअनुसार गतवर्ष यही समयमा आधासम्म रोपाइँ भइसकेको थियो ।

तर, यसवर्ष ढिलोगरी मनसुन लागेकाले किसानले धेरै रोपाइँ गर्न सकेका छैनन् । यसैगरी, नियमित वर्षा नहुँदा उनीहरूले बोरिङको भरमा सिँचाइ गरेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धानबालीको खेती हुने गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *