कैलाली । कैलालीको बर्दगोरियाका भूमिहीन सुकुम्बासीहरुलाई सरकारले जग्गाधनी प्रमाणपुर्जा वितरण थालेको छ । शनिबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री रन्जिता श्रेष्ठले गाउँपालिकाको वडा नं. ३ का ५ जना भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेकी हुन् ।
दशकौँ वर्षसम्म लालपुर्जा नपाएका भूमिहीन सुकुम्बासी परिवारले पुर्जा पाएपछि खुशी व्यक्त गरेका छन् । लालपुर्जा वितरण कार्यक्रमको शुभारम्भ गर्दै वडा नम्बर ३ का तीन जनालाई पुर्जा वितरण गरिएको छ भने, दुई जनाको पुर्जा कार्यक्रममा उपस्थित नभएकाले उपलब्ध गराउने गरी पालिकाले राखेको छ ।
लालपुर्जा पाउनेमा ३९ वर्षीय नन्नकला खत्रीले ३१३.१३ वर्गमिटर, ४४ वर्षीय रामबहादुर नेपालीले १५९.४४ वर्गमिटर र ३० वर्षीय मिलनबहादुर ओलीले १६७.१९ वर्गमिटर क्षेत्रफल भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । त्यस्तै, ३६ वर्षीय रमादेवी विकले ३४० वर्गमिटर र २८ वर्षीय गौरी दमाईको १४०.१९ वर्गमिटर जग्गा क्षेत्रफल भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।
जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले सरकारले भूमिहीन सकुम्बासीहरुलाई जग्गाको मालिक बनाउने कार्य अघि बढाएको बताइन् । ‘संख्यामा हेर्दा यो एउटा न्यून हो । तर, हामीले यस कार्यलाई तीव्र गतिमा अगाडि लैजान्छौँ र छिट्टै नै भूमिहीन दलित तथा भूमिहीन सकुम्बासीहरुलाई जग्गाको मालिक बनाउने कार्य अगाडि बढाउनेछौँ ।’
उनले लालपुर्जा वितरणलाई कार्यलाई छिट्टै नै सम्पन्न गर्न जिल्लास्थित आयोगलाई निर्देशन दिइन् । सरकारले उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिने उनले बताइन् । ‘देशका विभिन्न स्थानमा दशकौँदेखि आफ्नो जग्गाको मालिक भएको अनुभूति गर्न चुकेका नागरिकहरुमा यो कार्य देशभरि सञ्चालन गरी छिट्टै नै सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले राखेको छ ।’
पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘कैलाली लगायत देशभर नै प्रमुख समस्याको रुपमा भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समधान गर्न राष्ट्रिय भूमि आयोग र जिल्ला समिति गठन गरी काम सुरु गरेको छ । यसबाट दशकौँदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्याको सधैँको लागि समाधान हुने आशा मन्त्रालयले राखेको छ ।’
सो अवसरमा उनले यसक्षेत्रका भूमि सम्बन्धि समस्या समाधान गर्ने प्रतिबद्ध रहेको बताइन् । उनले भूमिहीन दलित सुकुम्बासीहरुलाई भूमी माथिको पहुँच पुर्याउने उदेश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट बन्चित हुनु नपर्ने बताइन् ।
‘संविधानले दिएको अधिकारअनुसार अब कोहीपनि नेपालीहरु भूमिहीन हुनु पर्दैन । मेरो कार्यकालभित्रै भूमिहीनहरुको समस्या समाधान गर्ने गरि काम गरिरहेको छु’, उनले भनिन् ।
सो कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले २० औँ वर्षसम्म नापी नआएको ठाउँमा अहिले नापी सुरु भएको बताउँदै यसक्षेत्रका जनता भाग्यमानी भएको बताए । उनले लालपुर्जा नपाएका भूमिहीन सुकुम्बासीहरुको संख्या धेरै भएकाले पालिकाले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । पहिलो चरणमा रातो फारम भरेकामध्ये सरकारले उपलब्ध गराउने जग्गा नलिई आफूले उपभोग गरेको जग्गा मात्रै लिन चाहेकाहरूलाई पुर्जा वितरण गरिएको अध्यक्ष कुँवरले बताए ।
‘रातो फारम भरेर सरकारी मापदण्डका आधारमा जग्गा लिन चाहनेहरूको व्यवस्थापन भूमि आयोगमार्फत संघीय सरकारले गर्ला । तर, आफूले उपभोग गरेको जग्गा मात्रै लिन्छौ भन्नेहरूको तत्काल पहिचान गरी आयोगलाई सिफारिस गर्ने काम भइरहेको छ ।’ उनले भने, ‘अन्य वडामा पनि यो काम सुरु हुँदैछ । यो कामले थप गति लिन्छ ।’
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कैलाली क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी, प्रदेशसभा (ख) सांसद रामेश्वर चौधरी, कैलाली जिल्ला भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्याय, केन्द्रीय नापी विभागका महानिर्देशक जनकराज जोशी र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष मिथुन गौतमले गरेका थिए ।
प्रतिक्रिया