१८ बैशाख २०८१, मंगलबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरिया पूर्ण खोप सुनिश्चितता पालिका घोषणा



कैलाली । खोपको राष्ट्रिय लक्ष्यअनुरूप स्वास्थ्य सूचकहरु पूरा भएपछि कैलालीको बर्दगोरिया गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिका खोप समन्वय समिति बर्दगोरियाले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

आइतबार आयोजित एक समारोहका बीच गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका हुन् ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । ‘स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ । त्यसका लागि आवश्यक औषधी, उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिएको छ ।’ उनले भने ।

अध्यक्ष कुँवरले जनताको स्वास्थ्य सेवा पहुँचको अभिवृद्धिमा ध्यान दिन सबै स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकालाई सुझाव दिए ।

‘गाउँपालिकाका सबै सरकारी स्वास्थ्य अस्पतालहरुमा पर्याप्त औषधीहरु पाइन्छ । तर, जनतालाई त्यसबारे जानकारी नहुँदा निजी क्लिनिकमा गएर चेकजाँच गर्ने र औषधी किनेर खाने गरिरहेका छन् । जनतामा स्वास्थ्य सेवा र सुविधाबारे प्रचारप्रसारको अभाव भएको हामीले महसुस गरेका छौँ । यसलाई रोक्न सबै स्वास्थ्यकर्मीहरुले प्रचारप्रसारमा लाग्नु आवश्यक छ । यसतर्फ ध्यान दिन म अनुरोध गर्न चाहन्छु ।’

सो अवसरमा उनले स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न भूमिका निर्वाह गर्ने सबै जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिए ।

नेपाल सरकारले दिगो विकास लक्ष्य (२०१६ देखि २०३०) मा स्वस्थ्य जीवन र सुखी जीवन प्रवर्द्धनको लक्ष्यअनुसार सबै बालबालिका लागि खोप निर्धारण गरेको छ ।

खोपबाट रोगहरुको नियन्त्रण, निवारण र उन्मूलनमा तीव्रता दिई त्यस्ता रोगहरुबाट हुने बिरामी, मृत्यु तथा अपांगतादर घटाउने सरकारको मुख्य लक्ष्य छ ।

सरकारले खोप कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनको लागि खोप ऐन २०७२ समेत जारी गरी बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित गरेको छ ।

पहिलो चरणमा बर्दगोरियाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताए ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ ।

सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका जन्मेदेखि १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपले लिएको एवं पछि अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थालाई जनाउँछ ।

वडा तथा स्थानीय तह पूर्ण खोप घोषणाका लागि सम्बन्धित वडा वा स्थानीय तहले आफ्नो कार्य क्षेत्रभित्र रहेका १६ महिनादेखि २३ महिनासम्म उमेरका सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप पूरा गरे, नगरेको अवस्थाको घरधुरीमा पूर्ण खोप सर्वेक्षण गरी पहिचान र विश्लेषणका आधारमा अभिलेख अध्यावधिक गरिन्छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० मा पालिकामा १५ महिनाभित्रका ८ सय १४ जना र १५ महिनाभित्र खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका १ हजार ७ सय ४२ जनाले पूर्ण खोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको अध्यक्षतामा भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी रहेका थिए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *