कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीबीच भेटवार्ता भएको छ । बर्दियाको ठाकुरद्वारामा बिहीबार साँझ भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागि हुनेबारे छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
प्रदेश सभामा तेस्रो ठूलो दलको भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी हालसम्म सरकारमा सहभागि भएको छैन । प्रदेश सरकारमा दुईवटा मन्त्रालयको मागदाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागि हुनेबारे आफ्नो अडानबाट लचिलो बन्दै सकारात्मक हुन थालेको हो ।
सरकारमा सहभागि हुने विषयमा सकारात्मक छलफल भएको मुख्यमन्त्री शाहका स्वकीय सचिव टेकराज कठायतले नेपाली अक्षरलाई बताए । मुख्यमन्त्री शाहको भनाइलाई उदृत गर्दै स्वकीय सचिव कठायतले भने, ‘सरकारमा सहभागि हुने कुरा भएको छ । कति र कुनकुन मन्त्रालयसहित सरकारमा सहभागि हुने भन्नेबारे अहिले नै टुंगो लागेको छैन तर, भेटवार्तामा एक–दुई दिनभित्रै प्रदेश सरकारमा सहभागि हुने सन्दर्भमा सकारात्मक छलफल भएको छ । एउटै मन्त्रालय भएपनि उहाँहरु सरकारमा आउनुहुन्छ ।’
भेटका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित, कैलाली क्षेत्र नम्बर ३ का सांसद गंगाराम चौधरी सहभागी रहेका थिए । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्री, एउटा समितिको सभापति र उपसभामुख दिने प्रतिबद्धता गरेका थिए ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । उन्मुक्तिले एउटा मात्रै मन्त्रालय पाउने भएपछि सरकारमा नजाने अडान लिँदै आएको थियो । प्रदेश सरकारमा एमाले नेतृत्वको सरकार ढल्नु र कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा उन्मुक्तिको ठूलो हात थियो ।
मन्त्रालय भागवण्डामा असन्तुष्टि जनाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले भेटवार्ताका क्रममा प्रदेश सरकारमा दुई मन्त्री, दुईटा समितिको सभापति र उपसभामुख दिनुपर्ने माग राखेको थियो ।
०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पहिलोपटक माघ २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । त्यसबेला भौतिक पूर्वाधार मन्त्रीमा नेपाली कांग्रेसका नेता प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका नेता नरेश शाहीलाई मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
उनले दोस्रो पटक नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउद र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंह र माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल लाई नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए ।
सुदूरपश्चिम प्रदेशमा उपसभामुखको पद पनि रिक्त छ । मुख्यमन्त्री शाह हाल रिक्त रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीलाई दिन सहमत भएका छन् । तर आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनपछि रिक्त रहेको सो मन्त्रालय भने कांग्रेसले राख्ने भएको छ ।
प्रतिक्रिया