म्याग्दी । मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २२ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागि भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाई नै छाडेका थिए ।
एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । उनी २०६९ सालमा घर फर्किएका थिए । घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भएका थिए ।
उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । रासस
प्रतिक्रिया