१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि प्रवर्द्धन गर्न साना किसानले दियो हाते ट्रयाक्टर



कैलाली । कृषिको व्यावसायिक प्रवर्द्धन गर्न साना किसान कृषि सहकारी संस्थाले हाते ट्रयाक्टरलगायतका कृषि सामग्री वितरण गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले बुधबार कृषि यान्त्रिकरण हस्तान्तरण गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को धानबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण गरिएको बताइएको छ । संस्थाका शेयर सदस्यहरुलाई कृषि आधुनिक खेती प्रणाली अवलम्बन गर्न कृषि औजार हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष पुर्णबहादुर विष्टले बताए ।

‘परम्परागत खेतीलाई अन्त्य गरेर व्यावसायिक खेती गर्न लगाउने र त्यसै कार्यक्रमअन्तर्गत शेयर सदस्यहरुको आयस्तरको विकासका लागि कृषि सामग्री वितरण गरेका हौँ ।’ उनले भने, ‘संस्थाले नियमित रुपमा ऋण तथा बचत कार्यक्रम गर्दै आएको छ, त्यससँगै हामीले कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने खालका कार्यक्रममा पनि जोड दिएका हौँ ।’

उनले सरकारले कृषि क्षेत्रलाई प्रवर्द्धन गरिरहेका बेला साना किसानले सीमित कारोबार (साहु र ऋणी) जस्तो व्यवहार अन्त्य गर्दै व्यावसायिक खेती प्रणालीतर्फ लगानी गरी शेयर सदस्यको आयस्तर सुधारमा ध्यान दिएको बताए । कृषि सहकारीले बिउँबिजन, पशुबीमा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

‘किसानहरुले गर्दै आउनुभएको काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारीले निरन्तर काम गरिरहेको छ’, उनले भने ।

उनका अनुसार कृषि ज्ञान केन्द्र धनगढीको ५० प्रतिशत अनुदान अर्थात् कुल १७ लाख ७४ हजार र शेयर सदस्यहरुको ५० प्रतिशत अनुदान अर्थात् कुल १७ लाख ७४ हजार लगानीमा कृषि यान्त्रिक वितरण गरिएको छ ।

सहकारी संस्थाको वडा नं.१ स्थित कृषि उपज संकलन तथा प्रशोधन केन्द्रमा आयोजित कार्यक्रममा २० जना किसानलाई १० वटा हाते ट्रयाक्टर (पावर टेलर), १० वटा मिनि हाते ट्रयाक्टर (मिनि पावर टेलर) र १० वटा रेफर वितरण गरिएको छ । वितरण गरिएको कृषि यन्त्रले किसानलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा कृषकलाई बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष कुँवरले सामग्री वितरण गर्दै किसानलाई आर्थिक रुपले सबल र सक्षम बनाउने स्थानीय सरकारको योजना रहेको बताए ।

‘किसानलाई आर्थिक रुपले सबल र सक्षम बनाउन कृषि सामग्री वितरण गरेका छौँ,’ अध्यक्ष कुँवरले भने, ‘गाउँपालिकाको नीति पनि कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने छ ।’

उनले गाउँपालिकाभित्र कृषकहरुको प्रगति नै कृषि क्षेत्रको प्रगति भएको बताए । कृषि औजारको सदुपयोग गर्दै कृषि उत्पादनमा जोड दिन उनले आग्रह गरे ।

‘कृषिको व्यावसायिक र आधुनिकीकरणमा जोड दिँदै गाउँपालिकाले योजनासहितका नयाँ कार्यक्रमहरु ल्याएको छ,’ उनले भने, ‘अनुदानमा वितरण गरिएका कृषि सामग्रीहरुको सबै किसानहरुले आफ्नै सोचेर काम उपयोग गर्नुहुनेछ ।’

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजनासहित गाउँपालिकाले काम गर्दै आइरहेको उनले बताए ।

कार्यक्रमका बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, जोशीपुर गाउँपालिका पूर्वअध्यक्ष रामकृष्ण चौधरी र कृषि ज्ञान केन्द्र धनगढीका अधिकृत अरुण चपाईं लगायतको सहभागिता रहेको थियो । संस्थाकी उपाध्यक्ष सीताकुमारी राज भण्डारी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रबन्धक रोजबहादुर कठायतले गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *