कैलाली । कैलालीको मोहन्यालमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थलिएपछि मोहन्याल गाउँपालिका–४ ओखलढुंगाकी ३७ वर्षीया विमला सार्कीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो ।
सुत्केरी व्यथाले च्यापेर बिरामीको अवस्था जटिल हुँदै गएपछि आज हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले बताए । उनका अनुसार स्थानीय पण्डौन स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष उपाध्यायको समन्वयमा हेलिकप्टर बोलाएर गर्भवती महिलालाई कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
‘उपचार नपाएर जोखिममा परेकी गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेर जटिल बन्दै गएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकप्टरको खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ ।’
शुक्रबार बेलुकादेखि प्रसुति ब्यथा लागेपनि शनिबार दिउँसोसम्म बच्चा नजन्मिएपछि विमलालाई हेलिकप्टरबाट उद्धार गरेर कोहलपुर लगिएको बताइएको छ । मोहन्यालको पहाडी भुभागमा सडकको पहुँच पुग्न सकेको छैन, सडक पुगेको ठाउँमा पनि वर्षायाम सुरु भएसँगै सडक ठाउँठाउँ भत्किएर नियमित यातायात साधन आवतजावतको समस्या छ ।
यहाँका दुर्गम भेगका ज्यान जोखिममा परेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्नुपर्ने बाध्यता छ । भौगोलिक विकटता, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा सुत्केरी महिलाहरुले समस्या भोग्दै आइरहेका छन् ।
प्रतिक्रिया