२५ भाद्र २०८१, मंगलबार | Sep 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरिया कलेजले पायो त्रिविबाट अनुमति, मास्टर्समा कुन विषय हुँदैछ पढाई?



कैलाली । कैलालीको बर्दगोरिया कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिषद्ले सम्बन्धन दिएको छ । सम्बन्धन प्राप्त भएसँगै अब कलेजले मानविकी तथा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसअघि काठमाडौंमा सञ्चालित क्लासिक कलेज अफ हाइएर स्टडिज, गौशालाको नाम र ठेगाना परिवर्तन गरी त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बर्दगोरिया कलेजको प्रमाणपत्र प्रदान गरेको हो । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालय किर्तिपुर काठमाडौंले त्रिवि कार्यकारी परिषद्को गत असार २१ गतेको बैठकको निर्णयअनुसार कलेज सञ्चालनको अनुमति दिइएको जनाएको छ ।

योजना निर्देशक प्रा.डा.ध्रुवकुमार गौतमले पत्रमार्फत् कलेजको नाम तथा ठेगाना परिवर्तनको निर्णयको कार्यार्थ तथा जानकारी बर्दगोरिया कलेज प्रमुखलाई दिएका हुन् । यसअघि गत जेष्ठ १० र २१ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी र व्यवस्थापन संकायअन्तर्गत डीनको टोलीले बर्दगोरिया कलेज स्थापनाका लागि सम्भाव्यताको अध्ययन गरेको थियो ।

सम्भाव्यता अध्ययनको छोटो अवधिमै कलेजले सञ्चालनको अनुमति पाएको छ । बर्दगोरिया कलेज प्रमुख चन्दा खरेलकाअनुसार यही शैक्षिक सत्र २०८०/०८१ देखि नै क्याम्पसको मानविकी र व्यवस्थापन संकायतर्फका विषयहरु पढाई हुनेछ । ‘कलेज सञ्चालनको सम्बन्धन पाएसँगै अब हामी प्रचारप्रसार र विद्यार्थी भर्ना अभियान सुरु गर्छौँ ।’ कलेज प्रमुख खरेलले नेपाली अक्षरसँग भनिन्, ‘निरन्तरको अथक प्रयास, मेहनत र सबैको सहयोगले कलेज सञ्चालनको अनुमति ल्याउन सफल भएका छौँ । यो अघिल्लो वर्षदेखि गरेको प्रोसेस हो । एउटा प्राइभेट कलेजलाई कम्युनिटीमा रुपान्तरण गर्न धेरै दुःख सहनुपर्ने भयो । यसमा स्थानीय तहले पनि धेरै नै सहयोग गरेको छ ।’

विगतमा त्रिभुवन विश्वविद्यालयमा हुने विभिन्न आन्दोलन तथा तालाबन्दीका कारणले पनि समयमै कलेज सञ्चालनको अनुमति ल्याउन केही ढिलासुस्ती र कठिनाई भएको उनको भनाइ छ । बर्दगोरिया कलेजमा मानविकी संकायतर्फ स्नातक र स्नातकोत्तर तहमा ‘एमए आरडी’ विषयसमेत पढाई हुनेछ ।

कसरी गरिँदैछ स्रोत व्यवस्थापन?

उच्च शिक्षामा सरकार, समुदाय र निजी क्षेत्रको सहकार्य, पर्याप्त आयस्रोत र जनशक्ति व्यवस्थापनमा भूमिका रहन्छ । कलेज सञ्चालनका लागि आर्थिक, भौतिक तथा जनशक्ति व्यवस्थापन गर्न नसक्दा कतिपय कलेजले समस्या तथा चुनौती झेलिरहेका छन् ।

प्राइभेट कलेजलाई कम्युनिटीमा रुपान्तरण गर्दा त्यसको अभिभारा, अभिभावकत्व सरकारले ग्रहण गर्ने भएकाले कलेजको सञ्चालनमा समस्या नहुने अपेक्षा छ । बर्दगोरियामा गत जेष्ठ १० गते त्रिवि अन्तर्गत डीनको कार्यालयबाट खटिएको सम्भाव्यता अध्ययन टोलीले स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखसहित सरोकारवालासँग छलफल, अन्तर्क्रियासहित स्थलगत अवलोकन गरेको थियो ।

सम्भाव्यता अध्ययन टोलीले बर्दगोरिया कलेजले दीर्घकालीन आर्थिक स्रोत व्यवस्थापनका लागि ठोस निर्णय लिन आवश्यक रहेको सुझाब दिएको थियो । त्यससँगै जग्गाको उपलब्धता, जनसंख्या, स्वास्थ्य अवस्था, माध्यमिक तहका विद्यालयको अवस्था, विद्यार्थी अनुपात, साधन र स्रोत व्यवस्थापनका विषयमा टोलीले चासो दिएको थियो ।

छलफलमा स्थानीय सरकारले कलेज सञ्चालनको जिम्मेवारी ग्रहण गर्ने प्रतिबद्धता जनाएसँगै सम्बन्धन प्राप्त गर्न सहज भएको थियो । स्थानीय तहले कलेज सञ्चालनका लागि अभिभावकत्व ग्रहण गर्ने भएकाले आर्थिक व्यवस्थापनमा समस्या नहुने कलेज प्रमुख खरेलको भनाइ छ ।

‘सुरुका तीन वर्षसम्म आयस्रोत तथा जनशक्ति व्यवस्थापनमा केही चुनौती भएपनि त्यसलाई सहज रुपमा समाधान गर्छौँ’ खरेलले भनिन्,‘प्रदेश र स्थानीय सरकारले पनि आवश्यक बजेट विनियोजन गरेको छ । अहिलेको एक–दुई वर्षसम्म स्थानीय सरकारले रेखदेख र अभिभावकत्व ग्रहण गरेमा समस्या हुँदैन । आगामी तीन वर्षपछि सामुदायिक कलेजलाई त्रिभुवन विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मा लैजान सक्छौँ ।’

कैलालीमा त्रिविबाट सम्बन्धन प्राप्त आंगिक, सामुदायिक र प्राईभेट गरि २२ वटा कलेज तथा क्याम्पसहरु सञ्चालित छन् । बर्दगोरिया कलेजले अनुमति पाएसँगै त्रिविबाट सञ्चालित कलेज तथा क्यापसको संख्या २३ पुगेको छ । यसअघि बर्दगोरियामा प्लसटु उत्तीर्ण विद्यार्थीहरु उच्च तहको शिक्षाका लागि लम्की, घोडाघोडी, जोशीपुर, टीकापुर र धनगढीका विभिन्न कलेजहरुमा धाउन बाध्य थिए । सोही अवस्थालाई मध्यनजर गर्दै आफ्नै पालिकामा क्याम्पस सञ्चालनको पहल थालिएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।

स्थानीय सरकारले मावि तहसम्म अनिवार्य तथा निशुल्क शिक्षाको अवधारणा लागूसँगै बर्दगोरिया कलेजले सम्बन्धन पाएकाले शिक्षा क्षेत्रले फड्को मार्ने भन्दै यहाँका स्थानीयले प्रशंसा गरेका छन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, उपाध्यक्ष लालदिप गिरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, कलेज प्रमुख चन्दा खरेल, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीविको अथक प्रयासले बर्दगोरियाका कलेज सञ्चालनको कार्यले पूर्णता पाएको यहाँका स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  २ : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *