२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका फार्मेसी अनुगमन सुरु



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ। 

औषधि र औषधिजन्य वस्तुको सही रूपमा उपभोगका साथै फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी गराए। 

अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयं फार्मेसीको स्थलगत निरीक्षणमा पुगेका छन्। उनले ललितपुर पाटनस्थित टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गरेका थिए।  

अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको बिल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिए।  

फार्मेसीको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताए। गल्ती गर्ने फार्मेसीका विषयमा बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारबाहीको निर्णय लिनेछ। 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्‍याई सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री–वितरण गरेको पाइएमा कडा कारबाही गरिने जानकारी दिए।  

मन्त्री बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा लागुऔषध ब्युरोका प्रतिनिधि, विभागका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो।
    
काठमाडौं उपत्यकामा फार्मेसी अनुगमनका लागि आज २० वटा टोलीले स्थलगत निरीक्षण गरेको थियो। देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *