१६ बैशाख २०८१, आइतबार | Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरिया कलेजको उन्नतिमा एउटै स्वर : ‘सहयोग गर्न प्रतिबद्ध छौँ’



कैलाली । बर्दगोरिया कलेजले त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन पाएसँगै यहाँका स्थानीयमा खुशी छाएको छ । वर्षौंदेखिको योजनाले सार्थकता पाएको भन्दै कार्यक्रमका सहभागिहरुले स्थानीय सरकार, सहयोगि दाता, कलेज व्यवस्थापन, प्रशासनलगायत शिक्षाप्रेमीलाई धन्यवाद दिए । तर, यसका लागि सबैले एकजुट हुनुपर्ने र हातेमालो गर्दै अघि बढ्नु आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् ।

कैलालीको बर्दगोरिया कलेजलाई त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले सम्बन्धन दिएको हो । त्रिवि कार्यकारी परिषद्को गत असार २१ गतेको निर्णयअनुसार कलेज सञ्चालनको अनुमति दिएको थियो । सम्बन्धन पाएसँगै शुक्रबार बौनियामा पहिलोपटक आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमका सहभागिहरुले कलेजको उन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै शिक्षक बलराज भाटले बर्दगोरिया कलेजको स्थापनाले आफू खुशी भएको बताए । ‘विगतमा नजिकै लम्की, घोडाघोडीका क्याम्पसहरु सञ्चालन गर्दापनि यहाँहरुले गरेको योगदानको म स्मरण गराउन चाहान्छु,’ उनले भने, ‘शैक्षिक र भौतिक विकासका क्रममा तपाईंहरुले गरिरहनु भएको अनन्त योगदान, अहोरात्र जनताको सेवालाई म एउटा बासिन्दाको रुपमा नजिकबाट हेरिरहेको छु । प्रेरणाको रुपमा यो पाँचवर्षको कार्यकाल जनता, समाजसेवाका लागि र पछि आउने पुस्ताका लागि नमूनाको रुपमा काम गरिरहनु भएको छ ।’

उनले कलेजमा कक्षा सञ्चालनका लागि चुनौतीपूर्ण रहेको बताए । यसका लागि स्थायी आम्दानीका स्रोतहरु र उल्लेख्य रुपमा दैनिक आय कोषको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले सुझाब दिए ।

कार्यक्रममा राप्रपाका प्रतिनिधि नविन जोशीले आफू विकासको विरोधि वा आलोचक नभएर राम्रा कामका लागि सबैलाई साथ, सहयोग र समर्थन गर्न तयार रहेको धारणा राखे । ‘हामीसँग १७ वटा सामुदायिक वन र १६ वटा सहकारी संस्था गरेर ३३ वटा संघसंस्थाहरु छन् । कुनै न कुनै संघसंस्थाहरुले कम्तीमा पनि १० प्रतिशत सामाजिक क्षेत्रमा बजेट छुट्याउनुपर्ने प्रावधान छ । सोही अनुसार हामीले शिक्षाक्षेत्रमा लगायौँ भने बर्दगोरिया कलेज निशुल्क चल्न सक्छ ।’

उनले भने, ‘एउटा नेतृत्वलाई भिजन दिँदैमा हाम्रो भिजन सकिंदैन । देश एक्काइसौं शताब्दीमा हिडिरहेको छ, वैज्ञानिक युगमा गइरहेको छ । विकास भनेको एजेण्डा र मापदण्डमा बहस हुन जरुरी छ ।’ उनले विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिन र हातेमालो गर्न जरुरी रहेकोसमेत बताए ।

यस्तै, कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं प्रवक्ता मिथुन गौतमले बर्दगोरिया कलेज स्थापना हुनु गर्वको विषय भएको बताए । उनले कलेज स्थापनाका लागि विभिन्न संघर्ष र चुनौतीको सामना गर्नुपरेको बताउँदै आर्थिक, भौतिक संरचनाको विकास गर्न सबैको साथ आवश्यक रहेको औंल्याए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालदिप गिरीले विकासका साझा सवालमा सबै एकजुट हुनुपर्ने बताए ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले शिक्षाको विकास भएमात्रै परिवर्तन र विकास सम्भव भएको बताए । उनले पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली लगायत पूर्वाधार क्षेत्रको विकासमा अघि बढिरहेको बताए । इच्छा र चाहना भए समस्याको सहज रुपमा हल गर्न सकिने उनले बताए । उनने भने, ‘जहाँ इच्छा त्यहाँ उपाय’ । इच्छा भए विकास निर्माणलाई समस्याले रोक्दैन, अनेकौं उपाय, विकल्पहरु निस्किन्छन् । उनले बर्दगोरिया कलेजलाई आगामी ४ वर्षे कार्यकालमा यसक्षेत्रकै नमूना कलेजका रुपमा स्थापित गर्नेसमेत प्रतिबद्धता जनाए ।

‘शिक्षा बिना मानिसको जीवन अन्धकारमय हुने हुँदा पालिकाको शैक्षिक सुधारमा यहाँका शिक्षाप्रेमी तथा समाजसेवीको महत्वपूर्ण साथ सहयोग आवश्यक छ,’ उनले भने, ‘बर्दगोरियाको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।’

अध्यक्ष कुँवरले पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा अनिवार्य तथा निशुल्क शिक्षाको अवधारणा लागू गरेको बताउँदै बर्दगोरिया कलेजलाई नमुना कलेजका रुपमा स्थापित गरि ५० प्रतिशतसम्म शुल्क छुट गरि विद्यार्थी पढाउने आफ्नो योजना रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष कुँवरले सबै पार्टीलाई समान र आपसी भाइचाराको रुपमा सम्बन्ध अगाडि बढाउँदै गएको बताए ।

कलेज व्यवस्थापन समितिकी सदस्य पबित्रा जैसी गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, विशिष्ट अतिथि उपाध्यक्ष गणेशराज गिरी, पूर्व गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, वडाध्यक्ष मिथुन गौतम, मोहन्याल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बुढा, नेपाली कांग्रेसका बर्दगोरिया सभापति कृष्ण विष्ट, एमालेका मिलन ओली, नेकपा माओवादी केन्द्रका रुपक सुनारले धारणा राखेका थिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन जोशी, बसन्त मुरारी नमूना माविका प्रअ भुमिप्रकाश बम, बालकन्या माविका विव्यस अध्यक्ष हेमन्त जोशी, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बम, कालिका ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष देवराज सिंह स्वारले बर्दगोरिया कलेजलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा कलेजलाई सहयोग गरेको भन्दै चन्दादाता, विशिष्ट, आजीवन सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार लिलाजंग शाहीले गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *