१७ बैशाख २०८१, सोमबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन मौलाउँदैछ सुदूरपश्चिममा लागुऔषधको जालो ?

१६ देखि २० वर्षका युवायुवती अधिकांश लागुऔषध प्रयोगकर्ता, नेपाल–भारत खुला सीमानाका प्रमुख चुनौती



कैलाली । लागुऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगरलाई प्रहरीले पक्राउ गर्‍याे । कञ्चनपुरको पुर्नवास नगरपालिका–१० दोदा नदीको पुलबाट गत साउन १३ गते उनीहरु पक्राउ परे ।

उनीहरुमध्ये प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको छ । सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल सवार उनीहरुको साथबाट चेकजाँच गर्दा १.०२ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत साउन ८ गते डडेल्धुरामा लागुऔषधसहित २४ वर्षीय भारतीय नागरिक मुन्ना खान पक्राउ परे । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका–१ स्याउले बजारबाट ०.१८ ग्राम लागुऔषधसहित उनी पक्राउ परेका थिए । प्रहरीले खानले सञ्चालन गरेको जिप मर्मत गर्ने कोठाको खानतलासी गर्दा लागुऔषध फेला पारेको थियो ।

सोही दिन कैलालीको गोदावरीबाट लागुऔषध कारोबारमा संलग्न एक दम्पति पक्राउ परे । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीया अनिता राना र उनका श्रीमान् २४ वर्षीय अन्तराम रानालाई पक्राउ गर्‍याे । घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले भारतको सीमानाका बजारबाट लागुऔषध ल्याएर गाउँटोलका युवा ग्राहकहरुलाई स–साना पुरिया बनाई बिक्रीवितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस्तै, गएको असार १० गते जिल्ला कारागारमा रहेका छोरा भेट्न गएकी धनगढी उपमहानगरपालिका–३, की ५० वर्षीया कमलादेवी अवस्थी लागुऔषधसहित पक्राउ परिन् ।

उनले छोरा ओमप्रकाशलाई लगेको सामान सुरक्षाकर्मीले चेकजाँच गर्दा बिस्कुटभित्र लुकाएको पाँच ग्राम लागुऔषध फेला पर्‍याे । अहिले ओमप्रकाश लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका छन् । प्रहरीकाअनुसार उनकी श्रीमतीसमेत लागुऔषध मुद्दामा जिल्ला प्रहरीको हिरासतमा छिन् ।

यी हुन् पछिल्लो समययताका केही लागुऔषध कारोबारका प्रतिनिधिमूलक घटना । प्रदेशमा लागुऔषध नियन्त्रणका विभिन्न प्रयासहरु भएपनि कमी आउन सकेको छैन । प्रहरीले लागुऔषध नियन्त्रणमा सक्रियता बढाएपछि केही समययता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दैनिकजसो लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन् ।

कुन वर्षमा कति मुद्दा दर्ता र पक्राउ ?

सुदूरपश्चिम प्रदेशमा वर्षेनी लागुऔषध दुर्व्यसनी बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । पछिल्लो पाँच वर्षयता प्रदेशमा लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दो रुपमा बढेको पाइएको हो । भारतसँगको खुला सीमा नाकाका कारण ब्राउन सुगरको आयात र अवैध कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध सम्बन्धी मुद्दामा २२१ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय र २०४ जना नेपाली नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यसवर्ष १५० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशमा लागुऔषध मुद्दामा २७० जना पक्राउ परेका थिए भने १७१ मुद्दा दर्ता भएका थिए । जसमा ९ जना भारतीय नागरिक छन् ।

त्यस्तै, प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध मुद्दामा ३९२ जना पक्राउ पर्नुका साथै २५३ मुद्दा दर्ता भएका थिए । जसमा १२ जना भारतीय नागरिक रहेका थिए । यहाँ आर्थिक वर्ष २०७८/०७९ मा यो संख्या झनै बढेर गएको छ । यसवर्ष ५६३ जना पक्राउ परे भने ३५३ मुद्दा दर्ता भए । जसमा १८ जना भारतीय पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा ८५६ जना पक्राउ परेका थिए भने ५४० मुद्दा दर्ता भए । यसवर्ष १७ जना भारतीय पक्राउ परेका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामप्रसाद घर्तिले लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियताले मुद्दा र पक्राउ पर्नेको संख्या बढेको बताए ।

‘नेपाल–भारतमा (ओपन बोर्डर) खुला सीमानाका कारण भारत र नेपालमा रहेका सुरक्षाकर्मीको आँखा छलेर कुनै न कुनै कारणले लागुऔषध लुकाईछिपाई ल्याउने गर्दा यो फैलिँदै गयो ।’ उनले नेपाली अक्षरसँग भने । विगतका तथ्याङ्कको अध्ययन र विश्लेषण गर्दा मानिसमा सचेतना वा ज्ञानको अभाव, आफ्नो कर्तव्य, जिम्मेवारी र सामाजिक मूल्य, मान्यता बिर्सेर गएको प्रहरी उपरीक्षक घर्ति बताउँछन् ।

लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीको तदारुकता, अन्य सुरक्षाकर्मी लगायत आम जनमानस र विभिन्न संघसंस्थाहरुले प्रयासले पक्राउ पर्नेको संख्या बढेको उनले बताए । अभियानलाई सफल पार्नका लागि सुरक्षाकर्मीले देखाएको तदारुकताको कारणले हुनुपर्छ ।

प्रहरीको अभियानअनुसार पनि विभिन्न ठाउँमा अध्ययन तथा अनुसन्धान गरिएकाले संख्या बढेको हुनसक्ने उनको भनाइ छ । उनले कैलाली र कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले सीमानाका रहेकाले अन्य सुरक्षाकर्मी थप्ने रणनीतिमा प्रहरी रहेको बताए ।

‘सीमाबाट लागुऔषध र अन्य अवैध मालवस्तुहरु भित्रिने भएकाले सुरक्षा युनिटहरुलाई सुरक्षा सतर्कता तथा तयारी गराइएको हुन्छ । प्रत्येक पालिकाहरुसँग सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समन्वय भइरहेको छ । यसमा आवद्ध र सरोकार राख्ने अन्य विभिन्न संघसंस्थाहरु पनि यसमा लागिपरेका छन् । त्यसले गर्दा युवायुवतीहरु बढी मात्रामा संलग्न भएको तथ्याङ्क र व्यवहारिक रुपमा देखियो ।’ उनले भने ।

कैलाली र कञ्चनपुरमा दोब्बरले बढे

कैलाली र कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ताको संख्या वर्षेनी दोब्बरले बढ्दै गएको छ । भारतसँग सीमा जोडिएका यी दुई जिल्लामा पछिल्लो चार वर्षमा लागुऔषधका घटना बढ्दै गएका हुन् । यी जिल्लामा लागुऔषध सम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्नेको प्रहरी तथ्याङ्क हेर्दा लागुऔषधको जालो फैलिँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९८ मुद्दा दर्ता भएका थिए भने १६१ जना पक्राउ परेका थिए । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा केही घटेको प्रहरी तथ्याङ्कले देखाएको छ । सो अवधिमा ९१ वटा मुद्दा दर्ता भएका छन् भने १३१ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्षमा सो संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को अवधिमा २०१ वटा मुद्दा दर्ता भए भने ३२३ जना पक्राउ परे ।

जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा लागुऔषधका घटना बढेको तथ्याङ्क छ । सो अवधिमा ३४७ वटा मुद्दा दर्ता भएका थिए भने ५२२ जना पक्राउ परेका थिए । त्यस्तै, कञ्चनपुरमा पनि लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा लागुऔषध ओसारपसारका ५५ मुद्दा दर्ता भए । सो अवधिमा ८७ जना पक्राउ परेका थिए । अर्काे आर्थिक वर्ष २०७७/०७८ मा लागुपदार्थ सम्बन्धी १४१ मुद्दा दर्ता भएको र २३० जना पक्राउ परेका थिए ।

पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सो संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यसअवधिमा २३९ जना पक्राउ परेका थिए भने १४३ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा लागुपदार्थ ओसारपसार दुर्व्यसनका १९४ मुद्दा दर्ता भए भने २८२ जना पक्राउ परे । जसमा २५५ जना पुरुष र १३ जना महिला संलग्न छन् । अन्य पक्राउ पर्नेमा १४ जना भारतीय नागरिक थिए । उनीहरुबाट २६ किलो चरेस र ५७० ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।

खुला सीमानाका प्रमुख चुनौती

शृङ्खलाबद्ध रुपमा हुँदै आएको लागुऔषध तस्करीका घटनाले नियन्त्रणमा चुनौती थपिएको छ । दुर्व्यसनी नियन्त्रण तथा न्यूनिकरणमा सबै सरोकार राख्ने निकाय जिम्मेवार र गम्भीर बन्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

‘सबैतिर लागुऔषध प्रयोगकर्ताको संख्या बढ्नुले सबैले सतर्क हुने अवस्था आएको छ,’ नेपाली अक्षरसँग उनले भने, ‘सरकार र सम्बद्ध सरोकार राख्ने निकायले सहकार्य गरि अघि बढ्नुपर्ने देखिएको छ । लागुऔषधका कारण परिवार, समाज र राष्ट्रकै प्रगति र उन्नतिमा आघात पुग्ने भएकाले नियन्त्रणका सबै उपाय अपनाउन र सबै पक्षसँग सहकार्य गरेर यसविरुद्ध काम गर्नुपर्ने अवस्था छ ।’

उनले लागुऔषध बढ्नुमा धेरै तत्व (फ्याक्टर) ले प्रभाव पारेको बताए । ‘यो किन बढ्यो भन्दा त धेरै फ्याक्टरले काम गरेको देखियो । एउटा पारिवारिक वातावरण, अर्काे परिवारले दिने समय, विद्यालय शिक्षा, रोजगारीका अवसर र एकअर्काको देखासिकी यी सबै तत्व (फ्याक्टर) हरु जिम्मेवार भएको अनुभूत हामीले गर्छौँ ।’

उनले त्यससँगै भारतसँग नजिकैको खुला सीमानाले पनि लागुऔषध नियन्त्रणका लागि चुनौतीपूर्ण रहेको बताए । सीमावर्ती क्षेत्रमा हुने लागुऔषधको ओसारपसारको अवस्था भयावह रहेको उनले बताए । ‘हाम्रो नजिकै (बोर्डर) सीमा छ । एक सय किलोमिटर दूरीमा नेपाल–भारतसँग सीमा जोडिन्छ ।

त्यसले गर्दापनि यो कुरालाई (इन्टाइस) बढाइरहेको छ । किनकी, सीमा नाकामा कसले कुन खालको सामग्री ल्यायो, ल्याएन थाहा हुँदैन । डिजिटल बोर्ड, डिजिटलबाट चेक गर्ने विधि छैन । खानतलासी गर्नुपर्ने, धेरै क्रस बोर्डर छ । त्यो कारणले गर्दा पनि सायद यो कुरा बढिरहेको छ । कारागारमा पनि लागुऔषधका केसहरु धेरै छन् । त्यसले पनि धेरै छ भन्ने तथ्यांकले नै देखाउँछ ।

आगामी दिनमा सोसल एजुकेशन दिने, पालिका स्तरबाटै सचेतना गर्ने, बालबालिका घरपरिवार र राज्यको पनि सम्पति भएकाले यो कुरामा तल्लो तहदेखि नै सम्बद्ध निकायले ध्यान दिनुपर्छ । सरकारले गर्ने शासन भनेको बढी क्युरेटिभ हुन्छ । भेटेपछि थुन्ने, मुद्दा चलाउने, सजाय वा कारागार राख्ने हुन्छ । प्रिभेन्टिभ मेजरलाई अलिकति जिम्मेवारी भएको, शिक्षा, स्वास्थ्य, स्थानीय सरकार बढी ध्यान दिनुपर्ने हो भन्ने लाग्छ,’ उनले भने ।

किन प्रभावकारी भएन प्रहरी अभियान ?

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २०७९ माघ २६ मा लागुऔषधविरुद्ध महाअभियानको सुरु गर्‍याे । तर, पछिल्लो एकवर्ष यताको तथ्यांक मात्रै हेर्दा लागुऔषध नियन्त्रण रोकिएन । लागुऔषध प्रयोगकर्ताको संख्या घटाउन र प्रदेशमा लागुऔषध दुर्व्यसनीहरूको संख्या अत्यधिक रुपमा बढ्नुले अभियान माथि नै प्रश्न उठेको छ । कारोबार नियन्त्रण गर्न प्रदेश प्रहरीले अभियान चलाएपनि संख्यात्मक रुपमा कमी आउन नसकेको हो ।

कारोबार ध्वस्त गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थालेको थियो । प्रहरीले स्थानीय तहसँग समन्वय गरी समुदाय र सामुदायिक विद्यालयमासमेत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

विभिन्न संघसंस्था तथा प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर र ट्याबलेटको ओसारपसार बढ्दो क्रममा रहेकोले रोकथाममा चुनौति थपिएको प्रहरीको भनाइ छ । लागुऔषधमा अधिकांश १६ देखि २० वर्ष उमेरका युवायुवती बढी फसेको सुरक्षा अधिकारीहरु नै बताउँछन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *