६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी र पहिरोले पश्चिम तराईंको जनजीवन अस्तव्यस्त

भीमदत्त राजमार्गमा अवरुद्ध, ठाउँठाउँमा डुबान



कैलाली । अविरल वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । वर्षाले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो । राजमार्गको खानीडाँडास्थित सेल्फीडाँडामा पहिरो गएको छ ।

पहिलोले कालोपत्रे सडक पूरै भाँसिएको छ । सडक अवरुद्ध भएपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका साधन बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन पनि बाटोमै छन् । पहिरोले सडक पुरै भाँसिएको त्यहाँ गन्तव्यतर्फ हिंडेका सयौं यात्रुहरू अलपत्र परेका छन् ।

पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

बाढीले ४ सय ६३ घरमा क्षति

सोमबार रातिको वर्षापछि आएको बाढीका कारण कैलालीमा चार सय ६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति भएको छ ।

कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ । यस्तै, धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ ।

भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ।

बाढीले सीमा स्तम्भ बगायो

बाढीले कैलालीको नेपाल–भारत सीमा स्तम्भ बगाएको छ । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो । नेपाल तर्फका ७४८÷३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कर्णालीमा पानीको बहाव बढ्दै

लगातारको वर्षाले कर्णाली नदीमा जलसतहसँगै पानीको बहाव बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा धनगढी विमानस्थलमा ०.२ मिलिलिटर वर्षा हुँदा टीकापुरमा १०७ मिलिलिटर वर्षा भएको छ ।

यहाँका अन्य सहायक नदी तथा मोहना नदीको बहाव भने मंगलबार बिहानसम्म स्थिर रहेको बताइएको छ । मंगलबार बिहान कर्णाली नदीमा जलसतह ७.८६ मिटर पुगेको छ । सो नदीको जलसतह १० मिटर पुगेमा सर्तकता तह र १०.८ मिटर पुग्नुलाई खतराको तह मानिन्छ ।

कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *