२३ बैशाख २०८१, आइतबार | May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधुनिक घरको इन्टेरियर डिजाइन 



सुन्दर घर बनाउने चाहना सबैको हुन्छ । हिजोआज आन्तरिक सजावटमा लगानी गर्ने ट्रेन्ड बढ्दै गइरहेको छ । घर सानो–ठूलो जस्तो भए पनि अवस्थाअनुसार गृहसजावट गर्न सकेमा आकर्षक देखिन्छ । यसका लागि आफ्नो बजेटअनुसार विभिन्न सजावटका सामान राख्न सकिन्छ । राम्रो देखाउन महँगो सामान होइन, डिजाइन पनि महत्वपूर्ण हुन्छ ।

इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका महासचिव रामगोपाल तन्डुकार विगतको दाँजोमा अहिले मानिसमा सौन्दर्यचेत बढेको बताउँछन् । ‘डिजिटल प्रविधिको विकासँगै इन्टेरियर डिजाइनले व्यापकता पाउन थालेको छ । मानिसमा सौन्दर्यचेतको विकास हुँदै गएको छ । १० वर्षअघि कमै मान्छेले मात्रै इन्टेरियर डिजाइन गराउँथे,’ उनी भन्छन्, ‘कुनै समय घरको भित्तामा प्लास्टर गरेपछि इन्टेरियर डिजाइनर खोज्ने चलन थियो । अहिले घरको जग राख्ने वेलादेखि नै इन्टेरियर डिजाइनर खोज्न थालेका छन् ।’ 

इन्टेरियर डिजाइन नेपालकी सन्दीपा तामाङ कोठा सुन्दर र व्यवस्थित हुँदा मानिसमा सकारात्मक ऊर्जा सञ्चार हुने बताउँछिन् । ‘घरभित्र राखिने सामग्रीले आवश्यकता मात्रै पूरा गर्दैन, सुन्दरता पनि थप्छ । सामग्रीको भेराइटीसँगै आकार, बनावट र डिजाइनले पनि महत्व राख्छ,’ उनी भन्छिन्, ‘घरभित्र राखिने फूल, बिरुवाले घर सजाउँदा वातावरण ताजा राख्न मद्दत गर्छ । घरमा लगाइने रङमा विशेष ध्यान दिनुपर्छ । रङ र मस्तिष्कबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । प्रकाश नपर्ने तथा अँध्यारो ठाउँमा भने केही उज्यालो रङ लगाउन सकिन्छ ।’

कलात्मक भर्‍याङ
महासचिव तण्डुकार घरभित्रका निर्माणमध्ये भर्‍याङको विशेष महत्व रहेको बताउँछन् । ‘ खासगरी, आधुनिक घरका लागि भर्‍याङ महत्वपूर्ण हुन्छ । डिजाइन र उपयोगको हिसाबले भर्‍याङलाई आकर्षक बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘क्षेत्रफल प्रशस्त भए कोठाको बीचभागमा भर्‍याङ निर्माण गर्न सकिन्छ । क्षेत्रफल कम भएमा एकातर्फ भित्ता पारेर बनाउँदा पनि आकर्षक देखिन्छ । भर्‍याङ बनाउँदा काठ, सिमेन्ट र फलामजस्ता वस्तुको प्रयोगबाट गर्न सकिन्छ ।’ 

किचेन र डाइनिङ
किचेनमा प्लेसमेन्टका लागि चुलो, फ्रिज फिटिङ जहिल्यै ट्र्यांगलमा राखिन्छ । चुलोको अपोजिटमा फ्रिज हुनुपर्छ । वास्तुशास्त्र सकेसम्म मिलाउँदा राम्रो हुन्छ । 

व्यवस्थित बैठक कोठा 
बैठक कोठा अलग्गै पनि हुन सक्छ । किचेन र डाइनिङसँगै एट्याच पनि हुन सक्छ, जहाँ नातेदारहरूसँगै बसेर चिया खाएर तपाईंले छलफल गर्न सक्नुहुन्छ । कहिलेकाहीँ खुला स्पेसलाई पनि बैठक कोठा बनाइएको हुन्छ । कसैले सुत्ने कोठानजिकै नै बैठक कोठा बनाएका हुन्छन् । यदि दुई वा तीन तलाको घर छ भने वरपर अन्य कोठा बनाएर बीचको ठाउँलाई खुला र सुन्दर राखेर बैठक कोठा तयार गर्न सकिन्छ । माथिल्लो प्यासेजलाई पनि बार्दलीजसरी लिभिङ रुमकै रूपमा प्रयोग गर्न सकिन्छ । प्रायः अवस्थामा बैठक कोठा ग्राउन्ड फ्लोरमै हुन्छ । 

लाइटिङ
हरेक कोठालाई प्रकाश जरुरी हुन्छ । तर, तपाईंले घाम छिर्ने गरी बैठक कोठाको डिजाइन गर्नुभयो भने राम्रो हुन्छ । नेचुरल लाइटले इनर्जी त दिने नै भयो, यसबाहेक कोठाका भित्तामा ढुसी पर्ने पनि कम हुन्छ । कृत्रिम बत्तीका हकमा अधिकांशले सेतो वा वार्म लाइट प्रयोग गर्छन् । कृत्रिम प्रकाशलाई आवश्यकता हेरेर थप आकर्षक र डेकोरेटेड पनि बनाउन सकिन्छ । 

फ्लोरिङ 
भुइँमा के बिछ्याउने भन्ने कुरा पनि महत्वपूर्ण हो । स्टोन फ्लोरिङ पनि गर्न सक्नुहुन्छ । त्यस्तै, टायल मार्बल वा पार्केटिङ पनि गर्न सकिन्छ । अहिले कार्पेटहरू पनि विभिन्न डिजाइनमा उपलब्ध छन् । तपाईंलाई जस्तो मन पर्छ, त्यस्तै गर्दा राम्रो हुन्छ । दीर्घकालसम्म टिक्ने र सहज हुने कुरा राख्दा हुन्छ । 

फर्निचर
बैठक कोठामा प्रायः सबैले टिभी राख्ने भएकाले टिभी युनिटको प्रयोग गर्न सकिन्छ । टिभी युनिटसँगै जोडेर सोकेस राख्नुभयो भने पनि राम्रो हुन्छ । सोकेसमा तपाईंले पाउनुभएका ट्रफी, मेडल, प्रमाणपत्र तथा तपाईंका फोटो एल्बमहरू सजाउन सकिन्छ । बजेट र इच्छाअनुसार कस्तो बनाउने भन्ने तय गर्न सकिन्छ । त्यस्तै, धेरैले सोफा राख्नुहुन्छ । भेटघाट धेरै हुने कोठा भएकाले सोफा राख्दा सहज पनि हुन्छ । टेबल वा कुर्सी पनि राख्न सकिन्छ । 

रङ/पर्दा
घरभित्र बैठक कोठा छ भने भित्तालाई आकर्षक रूपमा रंग्याउन सकिन्छ । प्लाई, वालपेपरको प्रयोगले पनि बैठक कोठा सजाउन सकिन्छ । फोटोहरू टाँसेर पनि आकर्षक देखाउन सकिन्छ । बजारमा विभिन्न डिजाइनका महँगा र सस्ता पर्दाहरू पाइन्छन् । तपाईंले आफ्नो इच्छा र आवश्यकताअनुसार यसको छनोट गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *