अछाम । अछाम जिल्लामा ज्येष्ठ नागरिक सम्मान अभियान सुरु भएको छ । रेडियो सोसाइटी एफएमले सुरु गरेको यो अभियान जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गर्न लागिएको हो ।
रेडियो सोसाइटी एफएम सञ्चालक समितिका सदस्य कर्णबहादुर धामीको अध्यक्षतामा शनिबार मंगलसेनमा भएको अभियान उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्ब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले यो अभियानले ज्येष्ठ नागरिकहरुलाई घर, समाज र सरकारबाट सुरक्षा सहितको स्याहार दिनुपर्छ भन्ने सन्देश दिएको बताउनु भएको छ ।
आफ्नै सन्तान बाट समेत ज्येष्ठ नागरिकहरु अपहेलित भइरहेका बेला घाम छेक्न, पानी रोक्न र लौरो टेक्न मिल्ने छाता उपहार दिएर उनीहरुको सुरक्षा सहितको स्याहार गर्ने बारे सन्देश दिएको उहाँले बताउनु भएको हो । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत रहनु भएका पूर्व मन्त्री कुँवरले ज्येष्ठ नागरिकहरुका लागि यो अभियान भलाकुसारी गर्ने अवसर पनि बन्ने भएकाले यो सिर्जनशिल अभियानमा सबै स्थानीय तहलाई खुलेर सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले सबै एक दिन बृद्ध हुने भएकाले यस्ता अवसर जुटाइदिनुनै सबै भन्दा ठुलो पुण्य हुने बताउनुभयो । उहाँले भौतिक विकास बाहेक अन्य सोच्दै नसोच्ने प्रबृतिले समाज सुधार हुन नसक्ने भन्दै यो अभियानले सामाजिक रुपान्तरणमा समेत ठुलो भूमिका खेल्ने भएकाले आमाबुवा हाम्रा भगवान हुन उनीहरुलाई स्याहार गरौं भन्ने दबाब दिएको प्रति पनि प्रशंसा गर्नुभयो ।
अभियान उद्घाटन समारोहका बिशिष्ट अतिथि अछाम क्षेत्र नम्बर २ बाट निर्बाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले ज्येष्ठ नागरिकाका लागि राज्यले कयौं नियम कानून बनाए पनि त्यो कार्यान्वयन नहुनु दुखद भएको बताउनु भयो । अब त्यसको कार्यान्वयन गरी यस्ता रचनात्मक अभियानमा हातेमालो गर्न उहाँले जिल्लाका सबै स्थानीय तहलाई सुझाब दिनु भएको छ । विगतमा अछाममा राजनीतिक बिभाजनले सामाजीक रुपान्तरणमा प्रगति हुन नसकेको भन्दै पछिल्लो पुस्ताका आफुहरुले एउटै मञ्च प्रयोग गर्न थालेपछि भने राम्रो कुराको सुरुवात भएको भन्दै उहाँले अब घर परिवार र सामाजमा पनि त्यो संस्कार सिक्नुपर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकको स्याहार र सुरक्षाका लागि छाता उपहार दिएर स्थानीय सरकारलाई दबाब दिइएकाले अब यो अभियानले ज्येष्ठ नागरिकका पक्षमा उल्लेख्य प्रगति देखाउने विस्वास लिनुभयो । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले सम्पति कमाएर पनि बाआमा प्रति वास्ता नगर्ने सन्तान बढेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । उहाँले यो अभियानले यस्तो गलत प्रबृति भएका व्यक्तिलाई चेतना दिने भन्दै ज्येष्ठ नागरिकका समस्या सुधार हुने विस्वास सहित गाउँ र शहर दुबै तिर त्यो समस्या मौलाउदै गएको बताउनुभयो । प्रदेशसभा सदस्य खड्काले अछाममा दशवटै स्थानीय तहमा यो अभियान गरेर घरघरमा आमाबुबाको सुरक्षा र स्याहारको सन्देश पुर्याउने कार्यमा लाग्न सबै स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले अभियानको प्रशंसा गर्दै यो अभियानलाई सफल पार्न आफुहरुले सबैतिर पहल गर्ने बचन दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको सम्मानका लागि सबै चिन्तीत हुनुपर्ने पनि बताउनुभयो । मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले सबै एक दिन बृद्ध हुने भएकाले कुनैपनि सन्तानले आमाबुवालाई हेलाको दृष्टिकोणले हेरे कुनै न कुनै दिन आफैले त्यसको सजाए भोग्नुपर्ने बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिककै सम्मानका लागि आफुहरु यो अभियानमा हातेमालो गरेर अघि बढेको बताउनुभयो । नगर प्रमुख बोहराले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नगरपालिका सधैं चिन्तीत रहेको बताउनुभयो । साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले यो अभियान साँफेमा अझै ब्यवस्थीत तरीकाले संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले अति गरिब समुदायका ज्येष्ठ नागरिकलाई लक्षित गरेर आफुहरु कुनै नयाँ खालको विषय समाबेश गर्ने योजनामा रहेको बताउनुभयो । त्यसका लागि अभियान सुरु गरेको रेडियो सोसाइटी एफएम सँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाई छ । कार्यक्रममा अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले आफ्नो गाउँपालिकाले हरेक पटक नयाँ कुराको सुरुवात गर्ने गरेको भन्दै यो नयाँ र सिर्जनसिल अभियानका लागि स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
उहाँले यो अभियान अझ थप ब्यवस्थीत बनाउने समेत बताउनुभयो । उहाँले सुत्केरीका लागि भत्ता कार्यक्रमको सुरुवात गरेको उदाहरण दिदै अब यो र यस्तै अन्य केहि नयाँ गर्नका लागि आफुहरु गृहकार्यमा रहेको पनि बताउनुभयो । कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले यो अभियान स्थानीय सरकारहरु आफैले गर्नुपर्ने भएपनि उनीहरुले ध्यान दिन नसकेको बिषय उठान गरेर झक्झक्याउने काम गरेको भन्दै रेडियो सोसाइटी एफएमले सुरु गरेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भौतिक विकासमा मात्रै आफुहरु केन्द्रीत भइरहेको भन्दै आगामी दिनमा यस्ता विषयमा ध्यान जान जरुरी रहेको बताउनुभयो ।
तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष बिमला शाहीले यो अभियानले साच्चै परिणाम दिनसक्ने देखिएको भन्दै आफुहरु लगानी नै लगाउनु परे पनि यो अभियानलाई अझै बृहत बनाउने बताउनु भएको छ । गाउँपालिकाले के गर्नुपर्छ गरेर ज्येष्ठ नागरिकको स्याहार तथा उपचारमा समेत यहीँ अभियान मार्फत योजनाबद्ध रुपमा लाग्ने बताउनुभयो । कार्यक्रममा चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सरदेबि खड्काको पनि उपस्थीति रहेको थियो । रेडियो सोसाइटी एफएमले मंगलसेन नगरपालिकाका १४ वटै वडाका ज्येष्ठ नागरिकका लागि छाता वितरण गरेको अभियान उद्घाटन समारोहमा मंगलसेन नगरपालिकाले उनीहरुका लागि १/१ वटा ओड्ने कम्मल समेत दिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति नयाँराम बजगाई, नेकपा एमालेका अध्यक्ष चन्द्र बोहरा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य शिवबहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक ओमप्रकाश रावल, नेकपा एकिकृत समाजबादीका उपसचिब नयन सोडारी, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष तेजबहादुर बिष्ट, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना र अछाम बहुमुखि क्याम्पसका प्रमुख छत्र बिष्ट लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक ध्रुव बीसीले गर्नु भएको थियो । यो अभियान यहीँ आर्थिक बर्षमा अछामका दशवटै स्थानीय तहमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया