काठमाडौं । संक्रमणकालीन न्यायासम्बन्धी विधेयक (टिआरसी)लाई आगामी संसद बैठकमा अगाडि बढाउने तीन दलका शीर्ष नेताहरूबीच समझदारी बनेको छ। सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबी समझदारी बनेको हो।
प्रमुख प्रतिपक्षी दलका सचेतक पदम गिरीले सरकार पीडितलाई न्याय दिनेगरी कानुन बनाउने तयार देखिएकाले यसलाई आगामी संसद बैठकमा लैजाने सहमति बनेको बताए।
‘टीआरसीलाई निष्कर्षमा पुर्याउनुपर्ने यो देशको साझा दायित्व हो। एमाले त्यसको लागि तयार छ। तर, हामीले पहिल्यैदेखि टीआरसीलाई पीडित केन्द्रित कानुन बनाउनुपर्ने जोड दिँदै आएको छ। सरकार त्यसमा तयार देखिएको छ। आगामी संसद बैठकमा टीआरसी विधेयक अगाडि बढ्छ,’ उनले भने।
पीडित केन्द्रित कानुन बनाउने विषयमा सरकार पहिलोपटक लचिलो देखिएको सचेतक गिरीले बताए। सरकार मनैदेखि पीडितको पक्षमा कानुन बनाउन तयार हुनुपर्ने उनको भनाइ छ। ‘सरकार पीडितको पक्षमा छ कि छैन भन्ने हाम्रो प्रश्न हो। पीडितलाई केन्द्रमा राखेर उनीहरूले न्याय पाउने कुरामा सुनिश्चितता दिन सरकार मनैदेखि तयार छ भने एमाले सरल ढंगले अगाडि बढ्छ,’ उनले भने।
उनले क्रूर हत्यालगायातका विषषयमा कानुनमा कसरी सम्बोधन गर्ने विषयमा खुला छलफल हुनुपर्ने बताए। उनले कानुन बनाइसकेपछि त्यसलाई कसरी कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल हुनुपर्ने बताए। ‘कानुन बनाउने कुरामात्र होइन। कानुन बनेलगत्तै आयोग बनाएर यसलाई पूर्णरूपले कसरी टुंग्याउने भन्ने विषय पनि छ। यसमा राजनीतिक दलहरूबीच समझदारी हुन जरुरी छ। राजनीतिक दलबीच समझदारी बिग्रियो भने यो पनि बिग्रिन्छ भन्ने हाम्रो ठम्याई हो,’ उनले भने।
प्रतिक्रिया