१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ-मुग्लिन सडक तीन साता बन्द हुने



चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ। सो सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो। 

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घन्टा सडक बन्द गरेर काम गरिँदै आएको छ। आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए।  

उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ। सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रूपमा भत्काउन आग्रह गरेअनुरूप काम भइरहेको उनले जानकारी दिए।  

उनले भने, ‘अत्यावश्यक सवारीसाधन छाड्नुपर्ने हुँदा दिनमा चार घन्टा भनिए पनि दुई–तीन घन्टा राम्रो गरी काम भएको छ।’  

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ। त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो। बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ। 

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए। आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो। 

आचार्यले कामको गतिलाई हेरेर आफूहरू उत्साहित भएको बताए। गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो। त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए। सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। 

०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु. एक अर्ब २८ करोड छ। अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी)को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्। सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रूपमा यो सडक छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *