२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई कारणले विद्यार्थीमा बढ्दो छ पढाइप्रति वितृष्णा



आज हरेक अभिभावकको एउटै गुनासो छ-छोराछोरीले पढेनन्। 

पढाइप्रति रुचि हराउँदै गएकोमा दिक्क छन् शिक्षक। शैक्षिक संघसंस्था च्याउसरी उम्रिए पनि पढाइको स्तर झनझन् खस्किँदै गएको छ भन्छन् विज्ञहरू। अपार शक्ति र सम्भावना भएको मस्तिष्क बोकेर आएका आजका विद्यार्थी किन पढाइप्रति रुचि देखाइरहेका छैनन्? यो हरेक परिवार, समाज तथा राष्ट्रको लागि चिन्ताको विषय हो। हरेक जिम्मेवार पक्ष यसप्रति समयमै सचेत भई समस्या समाधानतर्फ लाग्नुपर्ने देखिन्छ। 

भनिन्छ, कारण र उपाय समस्या सँगसँगै आएको हुन्छ। यसलाई पहिचान गर्नसक्ने खुबीमात्र हामीमा हुनुपर्छ। त्यसैले यसको वास्तविक कारण के हो त भन्नेतर्फ लाग्ने हो भने समाधानको उपाय पक्कै पनि भेटिन्छ। यस सम्बन्धमा सम्बन्धित विषय विज्ञहरूले गरेको अध्ययनलाई आधार मानेर हेर्दा यसको पछाडि मुख्यरूपमा २ वटा कारण रहेको पाइन्छ। व्यक्तिगत कारण र वातावरणीय कारण।

व्यक्तिगत कारण
कोभिडपछि मान्छेको जीवनशैली पूरै परिवर्तन भएको छ। यसबाट सबैभन्दा बढी प्रभावित बालबालिका भएका छन्। स्कुल जाने हरेक बालकको हातमा ग्याजेट छ। अधिकतम बालबालिका ग्याजेटको एडिक्सनमा पुगेका छन्। यसको कारणले उनीहरूमा ‘sound sleep’ छैन। शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनको लागि दैनिक ६/७ घण्टा मस्त निदाउनैपर्छ। निद्राको गडबडीले सबैभन्दा पहिला मस्तिष्कलाई असर पार्छ। स्मरणशक्ति ह्रास हुँदै जान्छ। स्ट्रेस, एङ्जायटी बढ्छ। अहिले हरेक स्कुलका हरेक कक्षामा यस्ता समस्या भएका विद्यार्थी भेटिन्छन्। जङ्कफुडको अत्याधिक प्रयोगले शारीरिक स्वास्थ्य बिगारेको त छँदै छ, कुनै पनि कुरामा ध्यान दिन नसक्ने समस्याले ग्रसित छन्। सोसल मिडियामा समय बिताउने अहिलेका किशोर किशोरीमा डेटिङ गर्ने फेसन चलेको छ भने ब्रेकअपको पीडाले मन असन्तुलित बनाएको छ। जीवनको कुनै ठोस लक्ष्य छैन। यसरी आफैंभित्र समस्या नै समस्या बोकेर हिँडेका विद्यार्थीले कसरी पढाइप्रति रुचि देखाउन सक्छन् र। 

वातावरणीय कारण
व्यक्तिगत कारणले मात्र नभई प्रतिकूल वातावरणको कारणले पनि बालबालिकाको पढाइप्रतिको रुचि कम भएको हुनसक्छ। विद्यार्थीको लागि उसको परिवार, छरछिमेक तथा स्कुल नै उसको वातावरण हो। घरपरिवारमा पढ्ने वातावरण नहुनसक्छ। आर्थिक समस्या, पारिवारिक कलहजस्ता समस्याले सताएको हुनसक्छ। अभिभावकले सधैं आफ्ना छोराछोरीलाई अरुसँग दाँज्ने, गाली, बेइजती गर्ने, पढाइभन्दा पैसालाई बढी प्रधानता दिने पारिवारिक संस्कार हुनसक्छ। यसको कारणले बालबालिकामा पढाइप्रतिको रुचि घट्दै जान्छ। 

स्कुल वास्तवमा सिक्नको लागि सबभन्दा उपयुक्त स्थान हो, भावी जीवनको मूलधार हो। यहीँबाट औपचारिक शिक्षाको थालनी हुन्छ। यति महत्वपूर्ण स्थानमा भौतिक पूर्वाधार विद्यार्थी अनुकूल (कक्षाकोठा, लाइब्रेरी, खेलमैदान, खानेपानी, शौचालय आदि) नभएमा विद्यार्थीको पठनपाठनमा असर पार्छ। अत्याधुनिक प्रविधिसँग हुर्किएका बालबालिकालाई पढाउने शिक्षकको परम्परागत शैलीको कारण पनि विद्यार्थीलाई पढाइतिर आकर्षित गर्न नसकेको हुनसक्छ। शिक्षकले विद्यार्थीको चाहना, भावना बुझ्न नसक्नु, विषयवस्तुप्रति गहिरो ज्ञान नहुनु, जसरी पनि स्कुलले पास गरिहाल्छ नि भन्ने मानसिकता विद्यार्थीमा हावी हुनु, पाठ्यक्रम, पाठ्यपुस्तक समय सापेक्ष नहुनु, विद्यार्थीको उद्देश्यसँग मेल नखानुजस्ता कारणले गर्दा पनि विद्यार्थीको पढाइप्रतिको रुचि कम हुँदै गएको देखिन्छ। 

त्यसैगरी देशमा बढ्दो बेरोजगारीको समस्याले दिनहुँ हजारौंको संख्यामा नेपाली युवाहरू विदेशीयको अवस्थामा पढेर के नै गर्न सकिन्छ र। आखिर विदेशमा गएर श्रम नै गर्ने त हो नि। त्यसको लागि किन मरिहत्ते गरेर पढ्नुपर्‍यो भन्ने निराशाको भावना अहिलेका विद्यार्थीमा पलाउनाले पनि पढाइप्रति नैराश्य उत्पन्न हुँदै गएको देखिन्छ। 

काउन्सिलिङको शिलशिलामा मलाई एउटा विद्यार्थीले भनेको थियो, ‘मलाई सबैले पढेन भनेर गाली गर्छन्, कुट्छन्। तर मैले किन पढिनँ भनेर कसैले सोध्दैनन्। मेरो भावना कसैले बुझ्दैनन्।’ बालबालिकाको मनभित्र कति कुरा गाँठो परेर बसेका छन्। त्यो गाँठो फुकाउने अवसर दिने हो भने उनीहरूको मन कति हलुङ्गो हुन्थ्यो होला।

वास्तवमा मान्छे सिक्नकै लागि बच्चाको रूपमा यो संसारमा आएको हो। बच्चालाई हरेक कुरा सिक्न असाध्यै रमाइलो लाग्छ। उसले रमाएरै सबै कुरा सिक्छ। तर, अभिभावक र शिक्षकले नै वातावरण बिगारी दिन्छन् र उनीहरूको पढाइप्रति वितृष्णा पैदा हुन्छ । एउटा जवान मान्छेले ३ वर्षमा सिक्ने कुरा बच्चाले १ वर्षमा राम्ररी सिक्नसक्छ। त्यसैले बालबालिकालाई उनीहरूले सिक्ने कुरामा जोड दिनुभन्दा आफूले सिकाउने कुरामा बढीभन्दा बढी अध्ययन, चिन्तन, मनन गरेमा यो कुरा फलदायी होला।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *