काठमाडौं । गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन् ।
विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका थिए ।
कर्मचारीका नेताहरूले अध्यागमन अधिकृतसहितका कर्मचारीलाई कुटपिटमा संलग्न भनिएका प्रहरीलाई तीन दिनभित्र निलम्बन नगरे काम रोक्ने चेतावनी दिएका थिए ।
त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमान्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिए ।
कर्मचारीका संगठनहरूले काम ठप्प पार्नेसहित आन्दोलनको चेतावनी दिएपछि गृहमन्त्री श्रेष्ठले आत्मसम्मानमा चोट पुग्न नदिने जवाफ पनि दिए ।
कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए ।
गृहमन्त्रीलाई भेट्न नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामी कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष गगनसिंह विष्ट र नेपाल मधेसी कर्मचारी संघका अध्यक्ष विजयकुमार यादव पुगेका थिए ।
प्रतिक्रिया