तामाङ समुदायको महान पर्व २८६० औँ सोनाम ल्होसारको अवसरमा लमजुङको पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निर्माण गरिएको छ । पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले बेसीशहर नगरपालिका वडा नम्बर ४ पुरानकोटमा २८ पिर्के रोटे पिङ निर्माण गरेको हो । पिङको बुधवार बेसीशहर नगपालिका प्रमुख गुमान सिंह अर्यालले उद्घाटन गरेका छन् ।
पिङको माध्यमबाट मौलिक संस्कृति संरक्षण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, पुरानकोटको पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानकोट भित्राउने लक्ष्य राखिएको आयोजक बुद्ध मिलन समाज फोस्रेका अध्यक्ष देबमाया तामाङले बताइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक ल्याउनुका साथै आन्तरिक पर्यटन प्रर्वद्धन र संस्कृति संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उक्त पिङ कुल ४ लाख ७५ हजार लागतमा निर्माण गरिएको वुद्ध मिलन समाजले जनाएको छ । पिङ निर्माणका लागी बेसीशहर नगरपालिकाले १ लाख ५० हजार, बेसीशहर ४ वडा कार्यालयले २० हजार रूपैयाँ सहयोग गरेको छ।
सो वाहेक अन्य रकम स्थानिय समुदाय, फोस्रे घर भई हाल स्वदेश तथा विदेशमा रहने स्थानीय, बिभिन्न स्थानका तामाङ समुदायका संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सहयोगबाट पिङ निर्माण गरीएको कार्यक्रम संयोजक राजकुमार तामाङले बताए । संभवत नेपालमै पहिलो पटक पुरानकोटको फोस्रेमा २८ पिर्के पिङ निर्माण गरिएको उनको दावी छ ।







प्रतिक्रिया