२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्ध दिवसमा सार्वजनिक बिदाबारे गाउँपालिका र वडाबीच ‘दोहोरी’



खोटाङ । २९औँ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने–नदिने विषयमा खोटेहाङ गाउँपालिका र सोही गाउँपालिकाको ७ नम्बर वडा कार्यालय खोटाङबजारबीच दोहोरी चलेको छ। 

फागुन १ गते पर्ने जनयुद्ध दिवसमा गाउँपालिकाले सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेलगत्तै वडा कार्यालय खोटाङबजारले सेवा प्रवाह नरोक्न अर्को सूचना जारी गरेको छ। 

गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले सोमबार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिकाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्थालगायत सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्थालगायतमा सार्वजनिक बिदा गरिएको जानकारी दिएका थिए।

गाउँपालिकाले सार्वजनिक बिदा दिएको सूचना जारी भएको केही समयपछि खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले अर्को सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन वडा कार्यालयबाट प्रवाह हुने सेवा जारी रहने जानकारीसहित वडाभित्रका सरकारी तथा गैरसरकारी संघसंस्थालाई कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छन्।  

सर्वोच्च अदालतको फैसला र मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय तथा गृह मन्त्रालयको माघ २९ को पत्रअनुसार जनयुद्ध दिवसमा सार्वजनिक बिदा नरहेको वडा कार्यालयको सूचनामा उल्लेख छ। जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने–नदिने विषयमा दलीय आधारमा उक्त गाउँपालिका र वडा कार्यालयको मत बाझिएको धेरैको ठम्याइ छ।  

गाउँपालिका प्रमुख राई गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने वडाध्यक्ष फुँयाल नेकपा एमालेबाट निर्वाचित हुन्। माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताले जनयुद्ध दिवसमा बिदा दिने गाउँपालिकाको निर्णयको तारिफ गरिरहेका छन् भने एमालेका नेता तथा कार्यकर्ताले वडा कार्यालय खुला गर्ने निर्णयको तारिफ गरिरहेका छन्।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले भने जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छैनन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रले दुई–दुई तथा नेपाली कांग्रेसले ६ स्थानीय तहमा जित हात पारेको छ। 

माओवादी केन्द्रले प्रमुख जितेको जन्तेढुंगा गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छैन। कांग्रेससँगको गठबन्धनमा माओवादी केन्द्रले खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा जित हात पारेको हो।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *