कैलाली । दोस्रो ‘वडाध्यक्ष कप’ भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रसुर्य युवा क्लब र महिलातर्फ राष्ट्रिय आधारभूत विद्यालय चोसेकाँडा विजयी भएका छन् । मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ तीन गरी आठ वटा टीमको सहभागिता रहेको थियो ।
यही फागुन २५ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता आज (शनिबार) समापन भएको हो । गत वर्षदेखि सुरुवात गरिएको ‘वडाध्यक्ष कप’ भलिबल प्रतियोगितालाई यसवर्ष पनि निरन्तरता दिइएको थियो । खेलकुदको माध्यमबाट स्थानीय क्षेत्रको पहिचान र प्रतिभालाई उजागर गर्न प्रतियोगितालाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।
खेलकुदको आधारशिला अर्थात् जग मानिने अन्तर वडास्तरीय प्रतियोगितालाई सफल गर्न विभिन्न माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र समर्थन गरेकोप्रति वडाध्यक्ष प्रेमबहादुर बुढाले जनप्रतिनिधि, वडामा रहेका सरकारी विद्यालय, सामुदायिक वन, युवा क्लब, खेलप्रेमी, शिक्षक, विद्यार्थी र राजनीतिक दलका प्रतिनिधि सबैलाई धन्यवाद दिए ।
दोस्रो ‘वडाध्यक्ष कप’ प्रतियोगितामाका लागि वडा कार्यालयले चालू आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरेको थियो । दुबै तर्फका विजयी टीमलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा महिला भलिबलतर्फ प्रथम हुनेले रु १० हजार, द्धितीय हुनेले रु ८ हजार र तृतीय स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, पुरुष भलिबलतर्फ प्रथम हुनेले रु १० हजार, द्धितीय हुनेले रु ८ हजार र तृतीय हुनेले ५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट खेल प्रदर्शन गर्ने मनोज घर्तिमगरलाई वडाध्यक्ष बुढाले प्रोत्साहन स्वरुप रु ५ सय प्रदान गरेका थिए । राष्ट्रिय आधारभूत विद्यालय मोहन्याल–१ चोसेकाँडामा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतिक्रिया