१७ बैशाख २०८१, सोमबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्यालमा ऐलानी जग्गा नापजाँच सुरु

झण्डै २ हजार ८ सय परिवार बन्नेछन् जमिनको मालिक



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो । औपचारिक रुपमा जग्गाको नापी र अभिलेखीकरण कार्य सुरु भएपछि लालपुर्जा पाइने आशामा यहाँका स्थानीय उत्साहित छन् ।

आइतबार मोहन्याल गाउँपालिकाको वडा नम्बर १ बाट ऐलानी जग्गा नापजाँच सुरु गरिएको वडाले जनाएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँचको काम सुरु गरिएको वडाध्यक्ष प्रेमबहादुर बुढाले बताए । मोहन्याल गाउँपालिकाले राष्ट्रिय भूमि आयोग र नापी कार्यालयसँगको समन्वयमा जग्गा नापजाँच गरिरहेको उनले जानकारी दिए ।

उनले वडाका केही मानिसले अनेकन तथ्य र आधारहीन कुराहरुमा फैलाएर भ्रम सिर्जना गरिरहेकाले यसतर्फ सबै सचेत बन्न जरुरी रहेको बताए । वडामा भइरहेका विकास निर्माणका गतिविधिमा सबै नागरिकको हित र विकासमा केन्द्रित भएर आफूले काम गरिरहेको उनको भनाइ थियो । उनले खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, बाटोघाटोको पहुँच पुर्याउन स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिबीच आपसी समन्वय हुन जरुरी रहेको बताए ।

नापजाँचको उद्घाटन गर्दै राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले क्रमशः सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने बताए । उनले यसअघि कैलालीका १३ मध्ये १० वटा पालिकामा ऐलानी जमिन नापजाँचको काम सकिएको बताए । ‘अब गाउँपालिकाका ७ वटै वडामा क्रमिक रुपमा काम अघि बढाउँछौँ,’ उनले भने । जग्गा नापजाँच पश्चात् नक्सा प्रमाणीकरण गरेर जग्गाधनी पुर्जा दिन प्रक्रिया अगाडि बढाइने छ ।

उनले सो पालिकामा नयाँ मात्रै नभइ यसअघि २०३६ सालमा नापजाँच भएको, व्यक्तिसँग पूर्जा र स्रेस्ता भएपनि नक्सा नभएकाले कित्ताकाट हुन नसके समस्यालाई समाधान गरिएको बताए । गत भदौ महिनामा मोहन्यालको साविकका सुगखाल गाविसका वडा नम्बर ६ र ७ का जग्गाको नक्सा प्रमाणित गरेर टीकापुर मालपोत कार्यालयलाई हस्तान्तरण गरेको उनले बताए ।

जग्गा वितरणमा राष्ट्रिय भूमि आयोगलाई थुप्रै चुनौती रहेकोले सीमित साधन र स्रोतका बीचमा काम गर्नु परेको उनले बताए । ‘सरकारले आयोग गठन गरेको छ तर, हात र खुट्टा दुवै बाँधेको छ । पौडी खेल भनेर समुन्द्रमा छोडेको छ । यो समुन्द्र हो,’ उनले भने । डेढ लाख मानिसहरुको व्यवस्थापन गर्न त्यति सहज नभएको र चुनौतीका बीच सबैको सहयोग भएमा काम गर्न सहज हुने उनको भनाइ छ ।

उनले वर्षाैंदेखिको समस्या समाधान गर्न आयोग खडा भएको उल्लेख गर्दै जनप्रतिनिधिहरुका लागि यो अवसर भएको पनि बताए । सो कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले यसअघि जग्गाको निस्सा वितरण भइसकेकाले सोही अनुसार ऐलानी जग्गा नापजाँचको काम अगाडि बढेसँगै गाउँपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जमिनका मालिक बन्ने बताए ।

राष्ट्रिय भूमि आयोग कैलालीसँग पटक–पटक समन्वय गरि नापजाँचको प्रक्रिया अघि बढाइएको बताउँदै उपाध्यक्ष साउँदले स्थानीय तहको निर्वाचनमा आफूले जनताका बीचमा राखेका प्रतिबद्धता पूरा गर्नतर्फ अग्रसर रहेको बताए । राष्ट्रिय भूमि आयोग कैलालीका सदस्य एवं विषय विज्ञ केशव जोशीले जतिसक्दो नापी टोलीलाई सहयोग र सहजीकरण हुन्छ त्यति नै छिटोछरितो नापजाँचको काम हुने भएकाले सहयोग गर्न आग्रह गरे ।

उनले अबपनि जनताका हातमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन नसकिए राष्ट्रिय भूमि आयोगको औचित्य नै सकिने बताए । यसअघि पटक–पटक जनतालाई जग्गाको फाराम भर्न लगाउने र जग्गाधनी प्रमाण पूर्जा दिन नसकिएकाले जनताले दुःख र सास्ती खेप्नु परेको स्मरण गराउँदै उनले राष्ट्रिय भूमि आयोग भूमि व्यवस्थापनको काम अघि बढाएकाले सबैलाई ढुक्क रहन आग्रह गरे ।

ऐलानी जग्गा नापजाँचको कार्य अघि बढेसँगै मोहन्याल गाउँपालिकामा झण्डै २ हजार ८ सय परिवारको तथ्यांक संकलन भएकाले जमिनको मालिक बन्नेछन् । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष जयप्रकाश मल्ल, ३ का वडाध्यक्ष नन्दराम गिरी (नवीन), निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बराल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *