कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले लक्ष्यअनुरुप आन्तरिक राजस्व संकलन गर्न थालेको छ । पछिल्लो ६ महिनायता गाउँपालिकाको अनुमानित अर्धवार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन भएको हो । यो अवधिमा गाउँपालिकाले लक्ष्यभन्दा झण्डै ५ लाख बढी राजस्व संकलन गरेको जनाएको छ ।
गाउँपालिकाले एकल अधिकार अनुसूची–८ अन्तर्गत रहेर सामुदायिक वन र नदीजन्य पदार्थमा राजस्व वृद्धि गरेको छ । प्राकृतिक स्रोतबाट स्थानीय कर, सेवा शुल्क तथा दस्तुर निर्धारण गरि आन्तरिक आय बढाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाले करको दायरा फराकिलो बनाउँदै लगेको छ ।
गाउँपालिकाले प्रत्येक सामुदायिक वनले बजेटको कुल रकमको कम्तिमा १० प्रतिशत स्थानीय सरकारलाई राजस्व तिर्नुपर्ने अवधारणा अघि सारेको छ । स्थानीय सरकारको बजेट निर्माणको क्षेत्र बढाउन राजस्वको दायरा पनि फराकिलो बनाउँदै लैजाने, संघ र प्रदेश सरकारले स्थानीय तहमा पठाउने बजेटको आकार वर्षेनी घट्दै गएकाले आफ्नै साधन र स्रोतको अधिकतम परिचालन र उपयोग गर्ने लक्ष्य लिएको छ ।
कुन वडाबाट कति राजस्व ?
मोहन्याल गाउँपालिकामा पछिल्लो साउन महिनायता प्राकृतिक स्रोतबाट मात्रै रु ७ लाख ४ हजार ८२२ रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा नदीजन्य वस्तुको बिक्रीबाट रु २ लाख ८७ हजार ४७२ आम्दानी गरेको हो ।
जसअनुसार अनक कन्सट्रक्सन कम्पनी प्रालिले ढुङ्गा, बालुवा, गिट्टी, भरान र ग्रावेल गरेवापत उक्त राजस्व दाखिला गरेको छ । उक्त निर्माण कम्पनीले गाउँपालिकाको वडा नम्बर १ र २ को झाप्री खोलाबाट नदीजन्यवस्तु उत्खनन तथा निकासी गरेको थियो । अनक कन्सट्रक्सनले कर्णाली नदीमा पक्की पुल निर्माण गरिरहेको छ ।
मोहन्याल गाउँपालिका कार्यालयले मात्रै यस अवधिमा रु ४ लाख ६१ हजार ५५७ राजस्व संकलन गरेको छ । पालिकाको वडा नम्बर १ को कार्यालयले रु १ लाख ४८ हजार ६४१, वडा नम्बर २ को कार्यालयले रु २ लाख ८४ हजार १८५ र वडा नम्बर ३ को कार्यालयले रु १ लाख ५३ हजार ४५० आन्तरिक आय गरेको छ ।
त्यस्तै, , वडा नम्बर ४ को कार्यालयले रु १ लाख १७ हजार २२०, वडा नम्बर ५ को कार्यालयले रु ७१ हजार ९ सय, वडा नम्बर ६ ले रु २ लाख ७१ हजार ५६ र वडा नम्बर ७ को कार्यालयले ८७ हजार १९५ गरी कुल रु १५ लाख ९५ हजार ६०४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
सुनौलो र बुद्ध वनले बुझाए कर
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र गाउँपालिकाको वन ऐन, २०७८ अनुसार मोहन्याल गाउँपालिकाले सामुदायिक वनलाई समेत करको दायरामा ल्याएको छ । गाउँ कार्यपालिकाको २०८० पौष २४ गतेको बैठकले वन पैदावार बिक्रीबाट प्राप्त आयको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार गाउँपालिकाको वडा नम्बर–३ फलेबिसौनास्थित बुद्ध सामुदायिक वनले राजस्व दाखिला गरेको छ । बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जंगबहादुर बगाले मगरका अनुसार वनले १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को पौष मसान्तसम्म भएको कुल रु ३१ लाख ७८ हजार ५ सय कारोबारको १० प्रतिशत हुन आउने रकम रु ३ लाख १७ हजार ८५० रुपैयाँ गाउँपालिकाको स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरिएको छ । बुद्ध सामुदायिक वनले संघीयताको मर्मअनुसार स्थानीय सरकार सञ्चित कोषमा वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम जम्मा गर्नेमा सामुदायिक वन उपभोक्ता समूह दोस्रो भएको छ ।
यसअघि गाउँपालिकाको वडा नम्बर–६ ठुलागडास्थित सुनौलो सामुदायिक वन उपभोक्ता समूहले रु ९८ हजार ५ सय रुपैयाँ राजस्व बुझाएको थियो । गत माघ १० गते सो सामुदायिक वनले कुल रु ९८ लाख ५ हजार राजस्वको १० प्रतिशत रकम राजस्व वापत दाखिला गरेको हो ।
मोहन्यालमा एक सय बढी सामुदायिक वन छन् । सबै सामुदायिक वनबाट १० प्रतिशत कर बुझाएमा करिब २ करोड राजस्व जम्मा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया