१७ बैशाख २०८१, सोमबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै वडाध्यक्ष गिरी

सडक विस्तारमा पालिकाको ५ लाख र सामुदायिक वनले ५० लाख सहलगानी गर्ने



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको बजेट लगानीमा ग्रामीण बस्तीसम्म सडक पहुँच पुर्‍याउन लागिएको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक विस्तार गर्नेबारे वडाका जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीबीच छलफल गरी निर्णय गरिएको छ । मोटरेबल सडक विस्तारका लागि सामुदायिक वनले सामाजिक विकास अन्तर्गत खर्च गर्ने वार्षिक आम्दानीको २५ प्रतिशत रकममध्ये २० प्रतिशतले हुने बजेट रकम अनिवार्य लगानी गर्ने सहमति भएको वडासचिव तेजबहादुर शाहले बताए ।

नयाँ ट्याक खोल्नका लागि ५५ लाख खर्च हुने अनुमान गरिएको छ । वडामा रहेका सन्तवीर, ज्ञानज्योति, चुरेचिउराडी, सिद्धबाबा, रत्नमष्टा, राउन्नेमटियार, हाडेमाटी, प्रगति र भैरवसोती सामुदायिक वन उपभोक्ता समूहले मोटरेबल सडक जोड्ने योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । वडाले उक्त योजना कार्यान्वयन गर्न चालू आर्थिक वर्ष २०८०/०८१ का लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वडाध्यक्ष नन्दाराम गिरी (नवीन) ले स्थानीय सरकार र सामुदायिक वनको संयुक्त लगानीमा यसै वर्षभित्रमा पूरा गर्ने गरी यस्तो योजना उल्लेख भएको बताउँदै भने, ‘विकास निर्माण र जनताको हित हुने कार्यमा जस्तोसुकै चुनौती भोग्न पनि हामी निर्वाचित जनप्रतिनिधि तयार छौँ । तर, यसका लागि तपाईंहरु स्थानीय जनताको पनि साथ, सहयोग र समर्थन चाहिन्छ ।’ उनले यसै आर्थिक वर्षभित्र उपभोक्ता समितिमार्फत् सडक निर्माणको काम सुरु हुने बताए ।

समाजको उत्थान हुनुपर्छ । हामी खुकुरीको धारमा हिंड्न पनि तयार छौँ । उनले भने, ‘सामुदायिक वनहरु व्यावसायिक रुपमा अगाडि बढेको मैले देखेको छु । सामुदायिक वन व्यावसायिक बन्न हुँदैन ।’ उनले सामुदायिक वनले आफ्नो कार्ययोजनामै सामुदायको विकासका लागि २५ प्रतिशत खर्च गर्ने प्रावधान राखेकाले वैधानिक रुपमा काम गर्नुपर्नेका जोड दिए । सामुदायिक वनको कार्ययोजना अनुरुप नचल्ने सामुदायिक वनमाथि कारबाही गरिने उनले चेतावनी समेत दिए ।

सडक निर्माणका लागि नवलसिंह बुढाको अध्यक्षताका ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । त्यस्तै, नरबहादुर बुढाको संयोजकत्वमा तीन सदस्यीय अनुगमन तथा निरीक्षण समितिसमेत गठन गरिएको छ । यहाँका ग्रामीण भेगमा सडक विस्तार हुन सके भौतिक पूर्वाधार र आर्थिक विकासका आधार तयार हुने, स्थानीय तहमा उत्पादन भएको वस्तु र सामान अर्को स्थानमा लैजान सहज हुने, शिक्षा, स्वास्थ्य, सूचना र प्रविधिमा नागरिकको सहज पहुँच पुग्ने अपेक्षा छ ।

वडाकै कार्ययोजनामा ५१ किलोमिटर सडक

स्थानीय तहको निर्वाचन अघि अधिकांश बस्तीमा सडक विस्तार हुन सकेको थिएन । २०७४ मा पहिलोपटक नन्दाराम गिरी (नवीन) उक्त वडाको वडाध्यक्षमा निर्वाचित भए । २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी दोस्रोपटक पनि वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनले वडाका हरेक बस्तीसम्म सडकको पहुँच पुर्‍याउने योजना बनाए । त्यसयता उनले वडाकै बजेट योजना तथा कार्यक्रम अनुसार ५१ किलोमिटर मोटरेबल सडक निर्माण गरेका छन् ।

मोहन्याल गाउपालिका वडा नम्बर ३ अन्तर्गत फलेबिसौना–सल्लेरीसम्म ११ किलोमिटर, श्रीखोरे–सुगरखालसम्म ७ किलोमिटर र श्रीखोरे–सल्लेरी–गोगनपानीसम्म ३ किलोमिटर सडक विस्तार गरिएको छ । त्यस्तै, राजिरेक्चा–रागामलेखासम्म ८ किलोमिटर, बर्जेना–ताम्चा १० किलोमिटर, फलेबिसौना–बुढीआमसम्म ३ किलोमिटर र पत्थरगढीमा ३ किलोमिटर सडक विस्तार भइसकेको छ ।

यसअघि बौनिया–फलेबिसौना सडकखण्डको ६ किलोमिटर सडक कालोपत्रे भएपछि आवातजावतमा सहज भएको छ । यी क्षेत्रमा वडाध्यक्ष गिरीले पहिलो कार्यकालमै सडक जोडेका हुन् । मोहन्यालको वडा नम्बर ३ मा भुगोल र जनसङ्ख्यामा सबैभन्दा बढी जनसङ्ख्या भएको ठूलो वडा हो । २०७९ को स्थानीय तहको तथ्याङ्क अनुसार गाउँपालिकामा १२ हजार ४३ जनसङ्ख्या रहेकोमा उक्त वडामा २ हजार ५७५ मतदाता छन् ।

शिक्षा, खानेपानी र सिँचाइमा नागरिकको पहुँच

सुगम कैलालीको भौगोलिक रुपमा दुर्गम मोहन्यालका अधिकांश भुभागमा अझैपनि यातायात, सञ्चार, खानेपानी, बिजुली, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र सिचाँइको पर्याप्त विकास र पहुँच पुग्न सकेको छैन । भैगोलिक रुपमा वडाका ग्रामीण पहाडी बस्तीमा पुरानै घोडेटो र गोरेटो बाटो छ ।

पालिकामा भौगोलिक विकटता एवम् दूरी टाढा भएकाले सडक सञ्जाल पुग्न नसकेको हो । यहाँका जनता लामो दूरीको पैदल यात्रा गरी सेवा लिन बाध्य छन् । गाउँपालिकाको सदरमुकाम (केन्द्र) मा पुग्न घण्टौंसमय पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको यहाँका स्थानीय बताउँछन् ।

मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष नन्दाराम गिरीले योजनाबद्ध ढङ्गले कार्ययोजना अघि सारिएको बताए । वडामा तत्कालीन, अल्पकालीन र दीर्घकालीन महत्वका योजनालाई गाउँपालिका, प्रदेश र संघ सरकारको पहलमा थुप्रै विकास निर्माण भइरहेको उनको भनाइ छ ।

शिक्षातर्फ राष्ट्रिय आधारभूत विद्यालय सल्लेरीको चारकोठे भवन निर्माण भएको र पथ्थरगढ, पिप्लीखेत र बर्जेनमा बालविकास कक्षाका लागि भवन निर्माण गरिएको छ । त्यस्तै, खानेपानी योजना अन्तर्गत राजिरेक्चामा ‘एक घर एक धारा’ कार्यक्रम लागू गरिएको छ । बर्जेन र साभामा खानेपानीको पाइपलाइन विस्तार गरिएको छ । सिँचाइका क्षेत्रका फलेबिसौनामा सिँचाइ कुलो निर्माण र गेधान पिप्लीखेतमा पक्की सिँचाइ कुलोको निर्माण गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *