१० चैत्र २०८१, सोमबार | Mar 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छैटौं संस्करणको साइनिङ्ग स्टार भलिबल प्रतियोगिता भोलिदेखि

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गर्ने



कैलाली । बर्दगोरियामा छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता भोलिदेखि हुने भएको छ । साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा भोलि (शुक्रबार) देखि रामजानकी मन्दिरको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

‘राष्ट्रको पहिचान, युवा तथा खेलकुद विकासको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १८ वटा खेलाडी टोलीले टीम दर्ता गराइसकेका छन् । केही टाढाबाट फोन सम्पर्क रहेका टीमलाई भोलि उद्घाटनसत्र सुरु अगावै दर्ता गरिने क्लबका अध्यक्ष भेषराज जैसीले बताए ।

उनका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टोलीको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई समूह विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ । फागुपूर्णिमा होली पर्वका अवसरमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताका लागि खेलमैदान सरसफाइ, मर्मतसम्भार र व्यवस्थापन कार्य सकिएको छ ।

अध्यक्ष जैसी खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने बताए । स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको उनको भनाइ छ । खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

गतवर्ष विविध कारणले रोकिए पनि यसवर्षमा भने प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको हो । देशमा संघीयता आइसकेपछि खेलक्षेत्रको विकासमा स्थानीय सरकार र सामाजिक संघसंस्थाको सहकार्यमा प्रतियोगितालाई निरन्तरता दिन सफल भएको उनले बताए । उनले देशविदेशमा रहेका खेलप्रेमी र स्थानीय समाजसेवी, बुद्धिजीविले खेलकुद सञ्चालनमा हौसला प्रदान गरेको भन्दै सम्पूर्ण सहयोगीलाई धन्यवाद दिए ।

विजेताले कति पाउनेछन् पुरस्कार ?

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, उपविजेताले ४५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष जैसीले जानकारी दिए ।

प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने छ । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवर्द्धकमा हुने प्रतियोगिताको सह–प्रवर्द्धकमा ६ वटै वडा कार्यलयहरु छन् ।

त्यस्तै, विषेश सहयोगीमा मोहन्याल गाउँपालिका–१ मा रहेको कोपिला सामुदायिक वन उपभोक्ता समूह, बर्दगोरिया–३ स्थित दानुफाँटा नमूना र लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । त्यस्तै, सहप्रायोजकमा मोहन्याल गाउँपालिका–१ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूह रहेको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहले दर्ता शुल्क रु ३ हजार ५ सय तिर्नुपर्ने छ भने खेल अवधिसम्म खेलाडीहरुले खान, बस्नको प्रबन्ध आफैले गर्नुपर्नेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ३९ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । उक्त क्लबले २०७४ देखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा राष्ट्रिव्यापी खुल्ला भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यसअघि रामजानकी मन्दिर संरक्षण समितिले पनि चौथो संस्करणसम्म भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *