१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साईनिङ्ग स्टार भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा बसन्त मुरारी विजयी



कैलाली । छैठौं संस्करणको साईनिङ्ग स्टार राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।

सो अवसरमा उनले खेलकुदले व्यक्तित्व विकाससँगै स्थानीय क्षेत्रको पहिचान जोडिएको बताए । खेलकुदले देशविदेशमा स्थानीय क्षेत्रलाई चिनाउन मद्दत मिल्ने बताउँदै उनले पालिकाले प्रतियोगिता सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले स्थानीय सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।

स्थानीय क्षेत्रबाट नै खेलाडी उत्पादन गर्न सकिए खेलकुदको महत्व अझै बढ्ने अध्यक्ष कुँवरको भनाइ थियो । उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष भेषराज जैसीले खेलकुदलाई छैठौं संस्करणसम्म निरन्तरता दिएकाले स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुदका लागि पूर्वाधार विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्न नीतिगत सुधारका कार्यक्रम ल्याउनुपर्नेका जोड दिए ।

बर्दगोरियालाई खेलकुद क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउँदै उनले खेल मैदान, खेलकुद सामग्री व्यवस्थापन नहुँदा र प्रशिक्षकको अभावले भलिबल खेल संकटमा पर्न थालेको बताए । उनले ग्रामीण भेगमा भलिबललाई सबैले रुचाउने गरेपनि क्लब एक विशुद्ध सामाजिक तथा गैरनाफामूलक संस्था भएकाले आर्थिक व्यवस्थापन नहुँदा वर्षेनी संघसंस्थासँग हात फैलाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले वडा र पालिकाले आवश्यक बजेट विनियोजन गर्दै युवा तथा खेलकुदको विकासमा जोड दिन जनप्रतिनिधिको ध्यानाकर्षण गराए । उद्घाटन खेलमा बसन्त मुरारी माविले आयोजक ‘बी’ टीमलाई २–१ को सेटमा हरायो । बसन्त मुरारीले २५–१५, २५–१४ र २५–१५ ले लिँदै आयोजक ‘बी’ माथि जित निकाल्यो । प्रतियोगितामा विभिन्न जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका महासचिव सुन्दर गौतमले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने छ । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवर्द्धक रहेकोे प्रतियोगिताको सह–प्रवर्द्धकमा ६ वटै वडा कार्यालय छन् ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष मिलन ओली र वडाध्यक्ष मनऋषि आचार्यले शुभकामना मन्तव्य राखेका थिए । महासचिव सुन्दर गौतमले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए । आजदेखि सुरु भएको प्रतियोगिता चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *