१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केदारलाई हराउँदै साईनिङ्ग स्टारले उचाल्यो भलिबलको उपाधि



कैलाली । कैलालीको बर्दगोरियामा जारी छैटौं संस्करणको राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजक साईनिङ्ग स्टार युवा क्लबले जितेको छ ।

बर्दगोरिया–३ स्थित रामजानकी मन्दिर खेलमैदानमा मंगलबार भएको फाइनलमा खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक साईनिङ्ग स्टार ‘ए’ ले केदार टूर एण्ड ट्राभल्स, धनगढीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट गुमाएको साईनिङ्ग स्टार ‘ए’ ले लगातार तीन सेट आफ्नो पोल्टामा राख्यो ।

साईनिङ्ग स्टार ‘ए’ ले केदारमाथि २५–२३, २५–१८, २५–२२ र २५–१९ को सेटमा पराजित गरेको हो । साईनिङ्ग स्टार ‘ए’ ले उपाधिसँगै एक लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केदारले ४५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । लिग चरणदेखि फाइनलसम्म साईनिङ्ग स्टार ‘ए’ ले सर्वाधिक ५ अंक जोडेको थियो ।

त्यस्तै, केदारले ४ अंक बटुली फाइनल स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा ॐ शिवहरि ज्ञान केन्द्र, रानीकुण्डाले तेस्रो स्थान हात पारेको छ । तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा वेष्ट स्पाइकर केदार टूर एण्ड ट्राभल्स, धनगढीका महेश ताम्राकार, वेष्ट सर्भर ॐ शिवहरि ज्ञान केन्द्रका जनक खड्कालाई पुरस्कृत गरिएको छ ।

त्यस्तै, वेष्ट ब्लकर साईनिङ्ग स्टार ‘ए’ का खेलाडी विरेन्द्र विश्वकर्मा ‘वुलेट’, वेष्ट सेटरतर्फ केदार टूर एण्ड ट्राभल्सका आशिष र वेष्ट प्लेयरतर्फ आयोजक साईनिङ्ग स्टार ‘ए’ का बलदेव धामीलाई नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।

हरेक वर्ष फागुपूर्णिमा होलीका अवसरमा आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष भेषराज जैसीले बताए ।

समापन कार्यक्रममा शुभकामना व्यक्त गर्दै बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी ‘लालदीप’ ले प्रतियोगिता आयोजना गर्दै सुसम्पन्न गरेको भन्दै धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले स्थानीय सरकारले खेलकुद विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले बर्दगोरिया गाउँपालिकाले त्यसका लागि पूर्वाधार तयारमा जोड दिएको बताए ।

विजयी खेलाडी र टिमलाई बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर, उपाध्यक्ष लालदीप गिरी, वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य, वडा नम्बर २ का वडाध्यक्ष गोविन्द विक, न्यायिक समिति सदस्य बसन्तीदेवी साउँद, वडा सदस्य कपिल गुरुङ, भावनादेवी विक र मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रेमबहादुर बुढाले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा क्लबका अध्यक्ष भेषराज जैसीले स्थानीय सरकारले खेलकुद सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरि सहयोग गरेकोमा धन्यवाद दिए । उनले स्थानीय सरकारी, सामाजिक, सहकारी संघसंस्था, व्यापारी, बुद्धिजीवि, सामुदायिक वन, राजनीतिक दलको सहयोग र समर्थनले प्रतियोगितालाई निरन्तरता दिँदै सञ्चालन र सम्पन्न गर्न सफल भएको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *