१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार सहयोग जुटेपछि जितबहादुरको मुहारमा छायो ‘मन्द मुस्कान’

९० हजार एक सय आर्थिक सहयोग



कैलाली । वर्षाैंदेखि उपचार नपाएर घरमै थलिएका जितबहादुर शारुमगरले उपचार पाउने भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ जरैठाडाका ६३ वर्षीय शारु मगरलाई बुधबार बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स मार्फत् उपचारका लागि नेपालगञ्ज पठाइएको हो ।

उनको उपचारका लागि आर्थिक सहयोगसमेत जुटेको छ । छालारोगबाट पीडित शारुमगर लामोसमय रोग र भोगसँग लडिरहेका थिए । उनको स्वास्थ्य उपचारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद डा.चन्द्र भण्डारीले ५० हजार रुपैयाँ, बेइजिङमा बस्दै आएकी सुनिता गुरुङले १४ हजार रुपैयाँ गौरीगंगा नगरपालिका–६ की सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरको खातामा पठाएका थिए ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरका टिकटक भाइरल अंशु बर्माले २५ हजार रुपैयाँ र बर्दगोरिया–२ स्थित सहारा घरका सञ्चालक बलबहादुर विष्टले १ हजार एक सय रुपैयाँ गरी ९० हजार एक सय रुपैयाँ पीडित शारुमगरको घरमै पुगेर हस्तान्तरण गरिएको छ । उक्त रुपैयाँ उनको उपचारमै खर्च हुनेमा आफू विश्वस्त रहेको अभियन्ता कुँवरले बताइन् ।

‘बलबहादुर विष्ट दाजुले हरि भण्डारी दाजुलाई फोटो पठाएलगत्तै मलाई मेनसन गरेर उहाँले फोटो पठाउनुभयो । त्यसपछि नेपाली कांग्रेसका नेता तथा माननीय डा.चन्द्र भण्डारीले आफ्नै पीडा सम्झेर मलाई लक्ष्मी बैनी तपाईं त्यहाँ जान सक्नुहुन्छ भन्नुभयो । त्यसपछि मेरो घर अलिक टाढा भएकाले मैले सहारा घरका सञ्चालक दाजु बलबहादुर विष्टलाई सम्पर्क गरें’ सहयोग रकम हस्तान्तरण गर्दै लक्ष्मीले भनिन् ।

गौरीगंगा–६ घर भएकी लक्ष्मी विगत ६ वर्षदेखि समाज सेवामा सक्रिय छन् । उनले सामाजिक सञ्जालको माध्यमबाट दुःखीपीडितको घाउमा मल्हमपट्टी लगाउन सफल भएको बताइन् । वडामा सामाजिक मेलमिलापकर्ताको संयोजक भएर काम गरेको उनको अनुभव छ ।

सहयोग हस्तान्तरण गर्दै उनले पीडित शारुमगरको खुट्टाको उपचारमा सहयोग मिल्ने अपेक्षा गरिएको बताइन् । ‘हामीले दिएको सहयोगले उहाँको पहिलेकै जस्तै अवस्था नहोला तरपनि, केही राहत र बाँच्ने आधार बनाउन सक्छौँ भन्ने अपेक्षा छ,’ उनले भनिन्–‘एकअर्कालाई अप्ठ्यारो पर्दा सहयोग गर्नु मानवीय धर्म र कर्म भएकाले विस्तारै यसमा अन्य दाताहरु पनि जोडिनु हुन्छ होला ।’ उनले प्रदान गरिएको सहयोग रकम घर खर्च नगरि उपचारमै सदुपयोग गर्न पीडित शारुमगरको परिवारलाई आग्रह गरिन् ।

उपचारका लागि आर्थिक सहयोग जुटेपछि पीडित जितबहादुर शारु मगरले खुसी व्यक्त गरे । ‘तपाईंहरु सहयोगी दाता, भाइभतिजा, प्रभु सबैलाई धन्यवाद छ,’ उनले भने–‘म अपाङ्गलाई तपाईंहरुले यसरी सहयोग गर्नुभयो । तपाईंहरुको आयु, बल बढोस् । सदासर्वदा सुखी रहनुहोला ।

२३ वर्षअघि जितबहादुरको दायाँखुट्टामा सानो खटिरा देखापर्यो । त्यही घाउखटिरा बढ्दै खुट्टाको सबैभागमा फैलियो । उपचार गर्न टीकापुर, नेपालगञ्ज, धनगढी, र दार्चुलाका अस्पतालमा धाए तर, निको भएन । भारतको गुजरातसम्म उपचारका लागि आफू पुगेपनि आर्थिक अभावले उपचारमा कठिनाई भएको उनले दुखेसो पोखे । पाँच जनाको परिवार रहेको जितबहादुरको घरमा छोराबुहारी, छोरी र श्रीमति छन् । खुट्टाको घाउ बल्झिरहँदा पनि आर्थिक जोहो गर्न गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *