१८ बैशाख २०८१, मंगलबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै, जोगिएला त सरकार ?

यथास्थितिमा विश्वासको मत नदिने एकीकृत समाजवादीको अडान



काठमाडौं । बागमती प्रदेश सभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाका अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाएका छन् ।

संघीय सरकारबाट बाहिरिएसँगै बागमती प्रदेश सभामा पनि नेपाली कांग्रेसले गत फागुन २३ गते सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जम्कट्टेल २०७९ पुस २५ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यसअघि २०७९ चैत ८ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनको पक्षमा ६७ मत, विपक्षमा १७ मत र तटस्थका ७ मत खसेको थियो ।

बागमती प्रदेश सभामा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ । यहाँ एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । हाम्रो नेपाल पार्टीबाट शैलेन्द्रमान बज्राचार्य सरकारमा गएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु एमाले, माओवादी र एकीकृत समाजवादीका ५५ सांसद छन् ।

हाम्रो नेपाल पार्टीका २ जोडिँदा ५७ पुग्ने हुँदा विश्वासको मत पाउनेमा मुख्यमन्त्री विश्वस्त थिए । तर, आइतबार नेकपा एकीकृत समाजवादीले बागमती मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भनेपछि माहोल परिवर्तन भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलको बैठकमा कम्तिमा एउटा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका थिए ।

त्यसो हुन नसके बागमतीमा माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए । उनले त्यही अनुसारको निर्देशन प्रदेश संसदीय दललाई पनि दिएका छन् । यथास्थितिमा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दल नेता कृष्ण खनाल बताउँछन् । एकीकृत समाजवादीले विश्वासको मत नदिँदा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार ढल्ने अवस्थामा पुग्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *