२३ बैशाख २०८१, आइतबार | May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम उपनिर्वाचन अंकगणित



काठमाडौं। इलाम क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ। नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन गर्दैछ। त्यसका लागि चैत २४ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

गत २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा २ स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एमालेका नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच मुख्य प्रतिस्पर्धा भएको थियो। नेम्वाङले त्यसअघि लगातार चारपटक संसदीय चुनाव जितेका थिए। तर, तत्कालीन गठबन्धन (कांग्रेस-माओवादी)का कारण उनको पाँचौं विजयी सुनिश्चित थिएन। यता इलाममा समाजसेवी छबि बनाएका व्यवसायी डम्बरबहादुर खड्का पहिलोपटक चुनावी मैदानमा उत्रेका थिए। गठबन्धनका कारण पनि धेरैले डम्बर विजयी हुने अड्कलबाजी गरेका थिए।

ती अड्कलबाजी ‘फेल’ भए पनि नेम्वाङले शानदार जित भने हासिल गरेनन्। अन्तिम मतपरिणामअनुसार नेम्वाङले डम्बरलाई ११४ मतान्तरले मात्र हराएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याउँदै विजयी हुँदा डम्बरले २९ हजार ९०६ मत ल्याए। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सिट थप्ने दाबी गर्दै इलाममा चुनावी अभियान सुरू गरेको छ। दलबलसहित इलाम पुगेर रास्वपा सभापति रवि लामिछानले माओवादी निकट मिलन लिम्बुलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्। उनले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको दाबी गरे। इलामले घण्टी बजाएरै छोड्ने उनको दाबी छ। त्यसअघि मिलनले माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। 

लामिछानेले घन्टी बजाउने दाबी गरे पनि मंसिर ४ को निर्वाचनमा रास्वपाले १४ सय मत पनि ल्याएको थिएन। निर्वाचन आयोगका अनुसार रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १३८० मत पाएका थिए। 

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १२७२, जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बुले ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द सिंह लिम्बुले ६८४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१० मत ल्याएका थिए। बाँकी ६ जना उम्मेदवारले सय मत पनि कटाउन सकेका थिएनन्।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन मतपरिणाम हेर्ने हो भने दलगत मतमा कांग्रेस र एमाले करिब बराबरको अवस्थामा छन्। वडाध्यक्षको मत हेर्ने हो भने कांग्रेसले ३२,९७८, एमालेले ३२,५२७, माओवादीले २,७१७, जनता समाजवादी पार्टीले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाले १३० मत पाएका छन्। यस हिसाबले पनि मुख्य प्रतिस्पर्धा कांग्रेस-एमालेबीच हुने देखिन्छ।

एमालेलाई माओवादीको समर्थन, कांग्रेसमा लागेन टुंगो
उपनिर्वाचनका लागि मनोनयन गर्ने मिति नजिकिँदासमेत नेपाली कांग्रेसले उम्मेदवार छान्न सकेको छैन। कांग्रेसको जिल्ला कार्यसमितिले डम्बरसहित भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ। तर, कसलाई उम्मेदवार बनाउने विषयमा कांग्रेस अझै अनिर्णित छ। कांग्रेसले उम्मेदवार टुंगो लगाउन मंगलबार २ बजे संसदीय बोर्डको बैठक बोलाएको छ। बैठकअघि उम्मेदवारका विषयमा कांग्रेस पदाधिकारीहरूले सोमबार छलफल गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्माले ३० वर्षपछि इलाम-२ मा कांग्रेसलाई जित्ने अवसर भएको ब्रिफिङ गरेका थिए।

यता नेकपा एमालेले नेम्वाङका छोरा सुहाङलाई पार्टीको उम्मेदवार बनाएको छ। सुहाङले निर्वाचन क्षेत्रमा चुनावी अभियानसमेत सुरू गरिसकेका छन्। गठबन्धनको सहयात्री भएको नाताले माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गर्ने अध्यक्ष ओलीले विश्वास व्यक्त गरेका छन्। उनले सार्वजनिक कार्यक्रममै गणितका हिसाबले माओवादीले आफूहरूलाई समर्थन गर्नुपर्ने बताएका थिए। ‘‘मलाई विश्वास छ, माओवादीले अन्तिममा हामीलाई समर्थन गर्छ। किनभने कांग्रेसलाई जिताउन मिल्दैन,’ ओलीले भनेका थिए।

त्यस्तै रास्वपाका मिलन लिम्बुसँगै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ। प्रेमदीप लिम्बु, डकेन्द्रसिंह थेगिम र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *