२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ग्याङफाइट, तीनजना घाइते, १४ पक्राउ



मंगलसेन । अछामको मंगलसेन र सुगालीका युवाहरूबिच ‘ग्याङफाइट’ हुँदा तीनजना घाइते भएका छन्। घटनामा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई खुकुरी र फलामका रडसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। गत असोज ३० गते जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ४ तिमिल्सेनमा लागेको सैनीगडा मेलामा मंगलसेन नगरपालिका वडा नम्बर ३ र ४ तथा बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ सुगालीका युवाहरूको समूहबिच ‘ग्याङफाइट’ भएको थियो।

खुकुरी र फलामका रडसहित बाटो ढुकेर बसेका मंगलसेनका युवाहरूले आक्रमण गरेको सुगालीको समूहको आरोप छ । घटनामा सुगालीका विराज रावल, विनय रावल र महेन्द्र रावल घाइते भएका छन्। उनीहरूको टाउको, ढाड, घाँटी र पिठ्युँमा चोट लागेको छ। घाइते तीनैजनाको उपचार भइरहेको डिएसपी भण्डारीले बताए। उनका अनुसार घटनामा संलग्नहरूले मदिरा सेवन गरी खुकुरी र फलामका रडलगायतका हातहतियारसहित आक्रमण गरेको देखिन्छ।

घटनामा संलग्न मंगलसेन ३ र ४ का १४ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमध्ये नौजनालई बिहीबार र पाँचजनालाई आज शुक्रबार पक्राउ गरिएको हो। घाइते भएको समूहले दिएको जाहेरीअनुसार घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।

स्रोतका अनुसार यी दुवै समूहबिच पुरानै दुश्मनीका कारण झगडा भएको हो। क्रिकेट खेलका क्रममा केही समय पहिला भएको झगडाकै कारण उनीहरूबिच फेरि कुटाकुट भएको बुझिएको छ। पक्राउ परेकाहरूसँग बयान लिने क्रम चलिरहेकाले दोषका आधारमा सजाय गरिने डिएसपी भण्डारीले बताए।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *