मंगलसेन । अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट मार्फत एम्बुलेन्स खरिद गर्न लागिएको हो ।
गाउँपालिकाले आज प्रकाशन गरेको सूचना अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को उपदफा १ (क) बमोजिम उत्पादक कम्पनी वा सो को आधिकारिक विक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने विधि अनुसार एम्बुलेन्स खरिद गरिनेछ ।
जसका लागि इच्छुक कम्पनी तथा बिक्रेताले सूचना प्रकाशन भएको मितिले १६ औँ दिनको दिउँसो १२ बजेसम्ममा सूचिकृत सहित सिलबन्दी प्रस्ताव दर्ता गराउन आव्हान गरिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन प्रसाद रिमालद्धारा हस्ताक्षर गरिएको सार्वजनिक सूचनामा एम्बुलेन्स खरिदका लागि सिलबन्दी प्रस्ताव दर्ता गराउने कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को करचुक्ता पत्र, कम्पनी दर्ता प्रमाण पत्र लगायत सूचनामा उल्लेख गरिएका सबै कागजात नियमावलीको नियम ३१ (ख) उपनियम २ बमोजिम पेश गर्नुपर्नेछ ।
पुरानो एम्बुलेन्स बिग्रेर बिरामीलाई समस्या उत्पन्न हुन थालेपछि नयाँ एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले बताए । उनका अनुसार पुरानो एम्बुलेन्स मर्मत गर्न नयाँ एम्बुलेन्स खरिद गरे हाराहारिकै बजेट खर्च हुने देखिएपछि नयाँ एम्बुलेन्स किन्न लागिएको हो ।
अब यो आर्थिक वर्षमै नयाँ एम्बुलेन्सले सेवा दिने र बिरामीलाई बिशेष सहुलियतमा सुबिधा दिइने अध्यक्ष साउँदको भनाई रहेको छ ।
प्रतिक्रिया