१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति माविको विकासका लागि महायज्ञ, किशोर शरणले दिनेछन् प्रवचन





कैलाली । शैक्षिक विकास तथा धर्म, संस्कृति संरक्षणका लागि धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आगामी मंसिर १ देखि ७ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक जनकराज गिरीका अनुसार महायज्ञ सञ्चालनका लागि मुल समिति संयोजक, उप–संयोजक र प्रचारप्रसार समिति गठन गरि जिम्मेवारी बाँडफाँट गरिएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

महायज्ञको तयारीका लागि शान्ति माध्यमिक विद्यालय परिसरमा सरसफाइ तथा महायज्ञ स्थलमा आवश्यक संरचना निर्माणको काम थालिएको छ । वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी शान्ति माविको स्तरउन्नति, धर्म, संस्कृतिको संरक्षण, सामाजिक एकता र सद्भावका लागि महायज्ञ सञ्चालन गर्न लागिएको मूल आयोजक समितिका संयोजक गिरीले बताए ।

धार्मिक जागरण तथा आध्यात्मिक चिन्तनले मानव शान्ति, अध्यात्मप्रेम बढ्ने भएकाले श्रद्धालु भक्तजन, धर्मप्रेमी महानुभावको उल्लेख्य सहभागिता रहने बताइएको छ । त्यस्तै, विद्यालयको शैक्षिक, भौतिक विकास तथा आर्थिक सुधारका लागि महायज्ञ आयोजना गरिएको हुँदा सबै क्षेत्र र समुदायको साथ र सहयोग हुने आयोजकको अपेक्षा छ । धार्मिक महायज्ञको अन्तराष्ट्रिय कथावाचक, युगल चरणोपासक मधुरभाषी पूज्य श्री किशोर शरण सुवेदी महाराजका मुखारविन्दबाट अमृतमय श्रीमदभागवत् कथा प्रवचन श्रवण गर्न सकिने प्रचारप्रचार समितिका संयोजक प्रकाश साउँदले बताए ।

के–के छन् दैनिक कार्यक्रम ?

धार्मिक महायज्ञको प्रबन्ध विश्व शान्तिका लागि साझा अभियान नेपालले गरेको छ । धार्मिक शुद्धिकरण, मानसिक शान्ति र आध्यात्मिक उत्थानको उद्देश्य राखेर धार्मिक महायज्ञ गर्न लागिएकाले दिव्यज्ञान र पवित्र कार्यमा सामेल भइ आध्यामिक लाभका साथै सामाजिक तथा शैक्षिक विकासमा रचनात्मक कार्य गरि मानव सेवा र योगदान दिन हुन प्रचारप्रचार समितिका संयोजक प्रकाश साउँदले सबैमा अनुरोध गरे गरेका छन् ।

प्रचारप्रचार समितिका संयोजक साउँदका अनुसार सप्ताह ज्ञान महायज्ञमा तुलादान, भूमिदान, अन्नदान, गौदान र पितृदान गर्न सकिनेछ । महायज्ञमा ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विषेश पूजा, ब्राह्मण बरण र ब्रतबन्ध (उपनयन संस्कार) गर्न सकिनेछ । त्यस्तै, दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर, स्थानीय जडिबुटीको पहिचान, बिहान ८ बजेदेखि काशी, हरिद्वार र बृन्दाबनका विद्धत् आचार्य पण्डितद्वारा मूलपाठ, रुद्रिपाठ, पारायण कर्मकाण्ड र १००८ शालिग्राम पूजन तथा परिक्रमा कार्यक्रम हुनेछ ।

श्रीमद्भागवत् कथा प्रवचन, भाषाभाषीका भजनकिर्तन तथा दिव्य झाँकी प्रदर्शन तथा दानवीर सम्मान बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म हुनेछ । बेलुकी ६ बजेदेखि ७ बजेसम्म बालसंस्कार कार्यक्रम सञ्चालन गरिनेछ । महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उनीहरुका लागि बसाइँ व्यवस्थापन, अतिथिका लागि आवास, भोजनालय, लिङ्ग गाड्ने लगायत आन्तरिक व्यवस्थापन तयारी थालिएको उनको भनाइ छ ।

महायज्ञमा दानदाताहरुलाई रामनामी सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, नगद ५१ हजार रुपैयाँ भन्दा बढी दान गर्ने दानदातालाई सभानायक घोषणा गरिनेछ । एक लाख रुपैयाँभन्दा बढी दान गर्नेलाई महासभानायक र ५ लाख भन्दा बढी दान गर्ने दाताको अर्धकदको शालीक निर्माण गरिने जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *