१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याउ बेचेर ६१ करोड 



जुम्ला  । चन्दननाथ नगरपालिका– २, खोलीकोटका ७७ वर्षीय किसान रामकृष्ण बुढ्थापाको स्याउखेती आम्दानीको प्रमुख स्रोत हो । बगैँचाबाटै उनले यो वर्ष ७० रुपैयाँ प्रतिकिलोका दरले तीन टन स्याउ बिक्री गरेको सुनाए । गत वर्ष भने प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गरेका थिए । बर्सेनि बजार र भाउ बढ्दा उनी दङ्ग छन् ।

चन्दननाथ नगरपालिका– ९, उमगाडका रतनबहादुर रावतले पनि एक सय ५० वटा स्याउका बोट लगाएका छन् । बगैँचामा ३० क्विन्टल स्याउ फलेको थियो । अन्यत्रबाट थप सय क्विन्टल खरिद गरेर उनले कुल चार सय क्विन्टल स्याउ जिल्लाबाहिर बिक्री गरेर आम्दानी गरेको बताए ।

१० वर्षदेखि स्याउखेती गर्दै आएका चन्दननाथ नगरपालिका– ८, धरालावडाका भैरव धरालाले बगैँचामा ६ सय स्याउका बिरुवा लगाएका छन् । यो वर्ष चार सय क्विन्टल स्याउ बिक्री गरेको जानकारी दिए ।

कृषि विकास कार्यालयका अनुसार जुम्लाका सबै किसानले बारीमा सानो–ठुलो स्याउ बगैँचा लगाएका छन् । उनीहरूले यो वर्ष जिल्लाबाहिर निर्यात गरी ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । आम्दानी बढेसँगै किसानले बगैँचा रेखदेखमा ध्यान दिएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउखेती झन् फस्टाएको छ ।

कृषि कार्यालयका अनुसार ८ साउनदेखि १० कात्तिकसम्म नौ हजार तीन सय ९१ टन स्याउ जिल्लाबाहिर बिक्री भएको थियो । सरदर ६५ रुपैयाँ प्रतिकेजीका हिसाबले हवाई, जिप, बस र ट्रकबाट मात्रै ६१ करोड ४१ लाखको स्याउ निर्यात भएको हो । यद्यपि, जुम्लामा यस वर्ष १४ हजार टन स्याउ उत्पादन हुने र त्यसमध्ये १० हजार टन स्याउ निर्यात भई करिब ४० करोड रुपैयाँ मात्रै भित्रिने अनुमान थियो ।

तर, जुम्ली स्याउले राम्रो मूल्य पाउनुका साथै माग बढेपछि स्याउ बिक्रीबाट आम्दानी बढेको हो । यो वर्ष २० हजार टन उत्पादन भएको र नौ हजार चार सय टन जिल्लाबाहिर बिक्री भएको कृषि कार्यालयको तथ्यांक छ । जुम्लामा चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ । 

जुम्लामा हालसम्मकै धेरै स्याउ उत्पादन हुँदा किसानको आम्दानी पनि बढेको छ । यहाँका किसानले न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । जुम्लामा रेड, रोयल, गोल्डेनसँगै उच्च घनत्वको स्याउसमेत उत्पादन भइरहेको छ । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, कोहलपुर, बुटवल, चितवन र काठमाडौंको बजारसम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *