२९ पुस २०८१, सोमबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमदानबाट बन्यो पीपल चौतारी



मंगलसेन । अछाम सदरमुकाम मंगलसेन स्थित बसपार्कमा श्रमदानबाट निर्माण गरिएको पीपल चौतारीको उद्घाटन गरिएको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले चौतारीको उद्घाटन गर्नु भएको हो ।

श्रम अभियान अछामका संयोजक राजेशबाबु बोगटीको अध्यक्षता तथा नगर प्रमुख बोहराको प्रमुख आतिथ्यता एंव उपप्रमुख संगीता रावल (सोडारी) र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको विशिष्ठ आतिथ्यतामा सम्पन्न उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि बोहराले श्रमदान गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनु भएको छ ।

अहिले विगत जस्तो श्रमदान गर्ने चलन घटेकाले मानव सभ्यता हराउने चिन्ता बढेको उहाँको भनाई छ । श्रम अभियानमा जोडिएका व्यक्तिहरुको समूहले सकेको आफै गरौं भन्दै बसपार्क क्षेत्रको मुहार फेर्न पिपल चौतारी निर्माण गर्नुका साथै सरसफाई अभियान सुरु गरेर उदाहरणीय काम गरेको प्रति नगर प्रमुख बोहराले प्रशंसा गर्नुभयो ।

बजेट र योजना बिना घरको फोहोर समेत बाहिर फाल्न अल्छी गर्नेहरुले समेत यस्ता अभियानबाट सिक्न सके समाज समृद्ध हुने उहाँको भनाई छ । सम्बोधनका क्रममा नगर प्रमुख बोहराले निस्वार्थ रुपमा गरिने यस्ता काममा नगरपालिकाले सधैं हातेमालो गर्ने विस्वास दिलाउँदै मंगलसेन बसपार्कको विकासका लागि डिपीआर तयार गर्न १० लाख बजेट विनियोजन गर्ने बताउनुभयो ।

साथै उहाँले अर्को वर्ष संघ र प्रदेश सरकारबाट आवश्यक बजेट नआए नगरपालिकाको तर्फबाट ५० लाख विनियोजन गरि बसपार्कमा चाहिने आवश्यक संरचना निर्माण गरिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख रावलले सम्पतिको पहिलो श्रोत श्रम भएका कारण सामाजिक रुपान्तरणका लागि श्रमदानले ठुलो सहयोग गर्ने बताउनुभयो । त्यसका लागि निशुल्क रुपमा श्रमदान गर्ने अभियानलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।

स्वर्गीय अम्बर बोगटी (मायालु) को सम्झनामा निर्माण गरिएको पीपल चौतारी उद्घाटन सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले बसपार्कको व्यवस्थापनका लागि आफु निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।

जसका कारण अहिले बसपार्कले आफ्नै नामको लालपूर्जा प्राप्त गरेको भन्दै उहाँले अब पनि थप व्यवस्थापन गर्न कुनैपनि कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । बसपार्क व्यवस्थापनका क्रममा प्रहरी बिट स्थापना देखि अन्य कार्यमा पनि सहयोग गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा मंगलसेन बसपार्ककका नाममा प्राप्त जग्गा धनी पूर्जा मंगलसेन नगरपालिकालाई हस्तान्त्रण गरिएको छ भने श्रम अभियान अछामका लागि नगर प्रमुख बोहरा सहित विभिन्न व्यक्तिहरुले गरी करिब एक लाख बढी रकम सहयोगको घोषणा समेत गरेका छन् ।

श्रम अभियानले बसपार्कमा निर्माण गरेको पीपल चौतारी निर्माणका क्रममा श्रमदान बाहेक अन्य १ लाख ७२ हजार ५२० रुपैयाँ खर्च भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका उपसभापति नयाँराम बजगाई, नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिद्धप्रसाद ढुंगाना, नेकपा माओवादी केन्द्रका कार्यालय सचिव कमल बहादुर थापा र नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य बमबहादुर रावलले पनि श्रम अभियानका काम प्रति प्रशंसा गर्नुभएको थियो ।

सभामा मंगलसेन नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बिर्खबहादुर बोगटी, वडा नम्बर ५ का वडाध्यक्ष झंकर प्रसाद भाट, वडा नम्बर ४ का वडाध्यक्ष नामसिंह धामी, वडा नम्बर १३ का वडाध्यक्ष हिक्मत बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष देबेन्द्र प्रसाद भण्डारी र वडा नम्बर ८ का वडाध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराले मन्तब्य राख्नु भएको थियो ।

त्यस्तै मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महत, मंगलसेन वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष पदमसिंह भाट, रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक ध्रुव बीसी, मङ्गलसेन बजा विकास समाजका अध्यक्ष गाेपाल बाेगटी, अछाम जेसिजका महासचिव झनक अधिकारी र युवा व्यवसायी कर्णबहादुर बोगटीले समेत मन्तब्य राख्नु भएको थियो ।

श्रम अभियान अछामका सह संयोजक शिवबहादुर बोगटीको स्वागत मन्तब्यबाट सुरु भएको सभामा अभियानका अर्का सह संयोजक कर्णबहादुर धामीले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने सभाको संचालन सचिव होमबहादुर साउँदले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *