कैलाली । कैलालीको बौनियामा हुने ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ को तयारी पूरा भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा पुस ९ गतेदेखि १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने बताइएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको निर्माणाधीन सेती राजमार्ग छिटो सम्पन्न गर्न महोत्सवले दबाबको काम गर्ने जनाइएको छ । त्यससँगै स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा, घोडाघोडी ताल, कर्णाली चिसापानी, राजकाँडा लगायतको विकास, संरक्षण र प्रचारप्रसारलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्ने महोत्सव मूल आयोजक समितिका संयोजक तथा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले बताए ।

छिमेकी मुलुक भारत र चीनको ताक्लाकोटसम्म जोड्ने त्रिदेशीय महत्वको सेती राजमार्गको पहिचान र निर्माण कार्य तीव्र गतिमा अघि बढाउन दबाब दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बर्दगोरिया–१ का वडाध्यक्ष मिथुन गौतमले बताए । वि.सं.२०४२ सालबाट सेती लोकमार्गको चर्चा गरिए पनि वि.सं.२०६६ सालमा सरकारले नीति तथा कार्यक्रममा समावेश गरी महत्त्वपूर्ण आयोजनाको रुपमा समावेश गरेको थियो । वि.सं.२०६६ यता हरेक वर्ष सेती राजमार्ग निर्माणका लागि सरकारले बजेट छुट्याए पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।
आयोजनालाई गति दिनका लागि दुई भागमा विभाजन गरी निर्माण कार्य भएपनि ढिलासुस्ती भएको हो । सेती राजमार्ग (दक्षिण खण्ड) टिकापुर–लोडे–चैनपुर (२४२ किलोमिटर) र (उत्तर खण्ड) चैनपुर–ताक्लाकोट (११७ किलोमिटर) दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । सेती लोकमार्ग निर्माणका लागि दबाब दिनकै लागि विगतमा समेत महोत्सव आयोजना हुँदै आएको थियो ।
महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न तहका व्यक्तिलाई आमन्त्रण गरी सेती राजमार्गको आवश्यकता र महत्व बारेमा जानकारी गराउँदै आयोजना सम्पन्न गर्न दबाब दिने आयोजकले जनाएको छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् । महोत्सवमा ८० स्टल रहेकोमा ६० स्टल बुकिङ भइसकेको आयोजकको भनाइ छ ।

महोत्सव अवलोकनको लागि विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई रु ७०, अन्यलाई एक सय र सिजनल रु ८ सय टिकट दर निर्धारण गरिएको छ । महोत्सव परिसरमा नेपाल सरकारबाट प्रतिबन्धित कार्यहरु गर्न नपाइने आयोजकले जनाएको छ । महोत्सवमा डेढ लाखदेखि २ लाखसम्म अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बर्दिया, बाँके, सुर्खेत, अछाम लगायत भारतको उत्तरप्रदेश र उत्तराञ्चल राज्यका व्यावसायी र आम जनमासले प्रत्यक्ष रुपले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया