११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरी मृत्यु प्रकरणः दुईजना विरुद्ध किटानी जाहेरी दर्ता, सिआइबीको टोली आउँदै



अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र ईशरा खड्काको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । किटानी परेकाहरु १५ र १७ वर्षका बालक छन् ।

उनीहरु विरुद्ध मृतक १५ वर्षीया सरस्वतीका ठुलोबुबा तथा १४ वर्षीया ईशराका हजुरबुबा नातापर्ने अवि खड्काले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।

उनका अनुसार किटानी गरिएकाहरु जिल्लाको ढकारी गाउँपालिका–३ तालीका हुन् । उनीहरु दुबैजना ढकारीकै गुरुकुल माविमा कक्षा ८ र १० मा पढ्ने विद्यार्थी रहेको खुल्न आएको छ । किटानीपछि जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर उनीहरु दुबैजना विरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उनका अनुसार यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली अछाम आइपुग्दै छ । टोली ढिलोमा बुधबार बिहानसम्ममा जिल्ला आइपुग्ने भण्डारीले बताए । सीआईबीले घटनाको अनुसन्धानका लागि इन्सपेक्टर सूर्यबहादुर शाही र सई श्रीभक्त श्रेष्ठको नेतृत्वको टोली खटाएको हो ।

घटनाको अनुसन्धानकै लागि सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली पनि खटिने भएको छ । सीआइबी र प्रदेश प्रहरीको टोली बुधबारदेखि अनुसन्धानमा खटिने प्रहरी नायब उपरीक्ष भण्डारीले जानकारी दिए । यो घटनाका सम्बन्धमा थप प्रमाण संकलनका लागि जिल्ला प्रहरी कार्यालय अछामको टोलीले मंगलबार फेरि घटनास्थल ढकारी–१ को छिन्ने वडार जंगलको निरीक्षण गरेको छ ।

त्यहा थप केहि प्रमाणहरु भेटिनसक्ने देखिएकाले दोस्रो पटक प्रहरी टोली त्यहाँ पुगेको भण्डारीले बताए । यो घटनाका सम्बन्धमा किटानी जाहेरी परेका दुईजना बाहेक अन्य केहि सँग सोधपुछ गरि छाडिएको छ । उनीहरु घटना घटेको दिन घटनास्थल छेउछाउ रहेका र किटानी जाहेरी परेकाहरुका नातेदारहरु छन् ।

ढकारी गाउँपालिका–८ घोडासैनको पल्साताकी सरस्वती र ईशरा गत शुक्रबार बाख्रा चराउन जंगल गएका बेला बेपत्ता भएका थिए । उनीहरु दोस्रो दिन शनिवार साँझ ढकारी –१ स्थित छिन्ने वडारमा मृत भेटिएका थिए । यस घटनाका सम्बन्धमा अछाम प्रहरीले हत्या हो या भवितव्य हो भनेर अनुसन्धानपछि मात्र भन्न सकिने बताउदै आएको छ ।

मृतक किशोरीहरुको शव भेरी प्रादेशिक अस्पताल नेपालगंजमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । मृतक दुबैको बुधबार दहासंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *