२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्न सकेन लमजुङ दरबार



लमजुङ । लमजुङ दरबार बजेट अभावले पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा रहेको सो दरबार  १६औँ शताब्दीमा बनेको बताइएको छ। पुरातत्त्व विभागलले शाहवंशीय राजाको उदगस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरस्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालनी गरेको थियो।

विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो। दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लास्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम अझै बाँकी रहेको उनले जानकारी दिए।

आर्थिक वर्ष ०७९/८० मा रु. एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा रु. ५० लाख बजेट छुट्याएको थियो। पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा शैलीको बन्नेछ। दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ।

गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले भने, ‘दुई वर्षभित्र सक्ने गरी पुरातत्त्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि तेस्रो वर्षमा पनि काम सम्पन्न भएन । अझै काम अधुरै रहँदा स्थानीय चिन्तित छन्, यहाँ विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुंगाकाठले असहज बनाउने गरेको छ।’

साथै स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेको उनको भनाइ छ । वडा नं. ३ का अध्यक्ष चित्रबहादुर दनाईले भने, ‘यत्तिका वर्षमा पनि निर्माण सम्पन्न भएन, यस वर्ष सम्पन्न हुनुपर्ने हो, तर भएन। हामीले सम्बन्धित निकायसमक्ष चाँडो निर्माण सम्पन्न गर्न पहल गर्दै आएका छौँ, तर सुनुवाइ नहुँदा यस वर्ष पनि कम बजेटले गर्दा निर्माण पूरा भएन।’

स्थानीय सुरेश श्रेष्ठले सरकारले यस्ता ऐतिहासिक दरबारको निर्माणका लागि एकैपटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्ने उल्लेख गर्दै पटकपटक थोरै बजेट आएकाले निर्माण बर्सेनि निर्माण अधुरै रहँदै आएको बताए। व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

शाहवंशीय राज्यकालको उदगमथलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई वि.सं. १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघेदुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए। त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ। सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोब्रह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए। यशोब्रह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा वि.संं. १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *