पोखरा–८ शिवालय चोकको एउटा कम्पाउन्डसहित घर भाडामा लिएर कार्यालय बनाइएको छ । घर छिर्ने गेटमै सुरक्षा गार्ड तैनाथ छन् । मान्छेहरुको बाक्लो ओहोर–दोहोर छ । त्यहाँ भित्र जान चाहनेहरुलाई ‘माथि’ सोधेर बल्ल रजिस्टरमा नाम लेख्दै छिर्ने व्यवस्था मिलाइएको छ ।
कार्यालयमा पुग्नेहरुलाई खादा लगाएर भव्य स्वागत गरिन्छ र विभिन्न प्रकारका खानेकुराहरु दिइन्छ । जुन घरको भित्तामा एउटा बोर्ड टाँगिएको छ र जहाँ लेखिएको छ, ‘मानव सेवा फाउन्डेन ।’ यो फाउन्डेसन त्यही संस्था हो, जसले पोखरामा कोटीहोम महायज्ञ लगाउने भन्दै चौतारा र ऐतिहासिक रुख मुठारेको छ ।
मानव सेवा आश्रमको संस्थापक विवादित धर्मगुरु विजय कृष्णमूर्ती भनिने विजय भण्डारी हुन् । काठमाडौं पशुपतिनाथमा गत साउनमा भएको कोटीहोम महायज्ञ होस् वा त्योभन्दा अघि उनको चरित्रका कारण होस्, विजय कृष्णमूर्ती विवादमा परिरहने पात्र हुन् ।
तिनै कृष्णमूर्तीले आगामी वैशाखदेखि ४ महिना लामो कोटीहोम महायज्ञ लगाउने भन्दै पोखरामा तयारी गरिरहेका छन् । मानव सेवाका निम्ति कोटीहोम गर्ने भन्दै पोखराका चौतारा र ऐतिहासिक रुखहरु कटान भएपछि विजय कृष्णमूर्ती फेरि एक पटक विवादमा तानिएका छन् ।
उनी नेतृत्वको फाउन्डेसनले कोटीहोमका लागि भन्दै पोखराको वडा नम्बर १४ र १३ मा हाँगा छिमल्ने नाममा रुख मुठारेको छ । मानव सेवा आश्रम निर्माणका लागि भन्दै ४ महिनासम्म हुने भनिएको गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि समिदा (दाउरा) चाहिएको भन्दै फाउण्डेसनले रुखै मुठारेको हो ।
शितल दिने चौतारीका रुखसमेत कुरुप बनाएर काट्दा र वडा, महानगरदेखि प्रदेश सरकार र नेपाल ट्रस्टसम्म सहयोगी बने ।
फाउन्डेसनलाई समिदा काट्नदेखि काठ थुपार्नसम्म वडाहरुले अनुमति दिएका छन् भने नेपाल ट्रस्टले पर्यटकका लागि भन्दै खुला गरेको रत्न मन्दिरभित्रै काठ थुपार्न जग्गा भाडामा उपलब्ध गराएको छ । वडा नम्बर ६, १३ र १४ नम्बर वडाबाट समिदा काट्न भन्दै अनुमति लिएर रुख नै ठुटै पर्दा पनि अनदेखा गरेको वडादेखि महानगरपालिका पालिकासम्मले विरोध र आलोचना भएपछि बल्ल प्रचारबाजी देखाएको छ ।
‘कोटीहोमका नाममा रुख काटिएको हामीलाई थाहै दिइएन, वडाबाट अनुमति गएको छ भन्ने थाहा भएन । तर, यसरी रुख मुठार्न पाइँदैन, महानगरले अनुमति दिएको छैन,’ पोखरा महानगरका मेयर धनराज आचार्य भन्छन्, ‘यति लामो महायज्ञ भन्ने नै हुँदैन, मैले धेरै ठाउँमा बुझें यो कोटीहोम नै होइन । त्यसैले यो गर्नै पाइँदैन भन्ने हो ।’
प्रतिक्रिया