काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न बिदेसिनैपर्ने बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन ०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्रीले पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने प्रस्ट पारे।
‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न बिदेसिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ। त्यो बुझ्न बजेट पढ्नुहोस्। बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।’
देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्रीले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी–व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताए।
करका दरहरू घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए। यस्तै, करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे।











प्रतिक्रिया