३ मंसिर २०८३, बुधबार | Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एक महिनामा ५ गम्भीर अपराधका मुद्दा दर्ता, २२ प्रतिवादी पक्राउ



मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले कार्तिक महिनामा जिल्लामा भएका विभिन्न घटनाको विवरण सार्वजनिक गरेको छ। अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा लगायतका विषय समेटेर प्रहरीले एक महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार कार्तिक महिनामा जिल्लामा ५ वटा जघन्य तथा गम्भीर अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पविन्द्र बमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४ र जुवाताससम्बन्धी एउटा मुद्दा दर्ता भएको छ।

त्यस्तै, ज्यान मार्ने उद्योग, आत्महत्या, संगठित अपराध, सामाजिक अपराध तथा महिला बालबालिकासम्बन्धी लगायतका विषयमा अन्य १३ वटा मुद्दामा समेत प्रहरीले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

कार्तिक महिनामा चालु मुद्दाका २२ जना प्रतिवादी पक्राउ गरेको अछाम प्रहरीले चारवटा पुराना मुद्दासमेत फर्छ्यौट गरेको छ। दुई वर्षभित्र अनुसन्धान तथा कारबाही प्रक्रिया टुङ्ग्याउनुपर्ने दायित्व सरेका ७१ वटा मुद्दा भने अझै पेन्डिङमा रहेको विवरणमा उल्लेख छ।

यस अवधिमा फैसला भएका दुई मुद्दामा १६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। यस्तै, कार्तिक महिनामा जिल्लामा तीन जना हराएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीमा परेका ११ वटा ठाडो उजुरी भने सबै फर्छ्यौट भइसकेका छन्।

प्रहरीको तथ्यांकअनुसार कार्तिक महिनामा जिल्लामा एक जनाले आत्महत्या गरेका छन्। त्यस्तै, ज्यान मार्ने उद्योगसम्बन्धी एक र लागुऔषधसम्बन्धी एक गरी दुई मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

यस अवधिमा विभिन्न अनुसन्धान तथा अन्य प्रहरी कार्यका लागि कुल १ हजार ३९० जना प्रहरी परिचालन गरिएको थियो। कार्तिक महिनामा जिल्लामा भएका ६ वटा सवारी दुर्घटनामा १० जना घाइते भएका छन्। नियमविपरीत सञ्चालन गरिएका सवारीसाधनमाथि गरिएको कारबाहीबाट ७२ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय अछामले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित समुदाय र विद्यालयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बुधबार  ६ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *