अछाम । अछामको ढकारी गाउँपालिका–१ बण्डालीमाडुमा नवनिर्माण गरिएको बण्डाली देवताको मन्दिर उद्घाटन गरिने भएको छ । रुद्री पूजापाठसहित विभिन्न धार्मिक अनुष्ठान गरी भोलि (शनिबार) मन्दिरको उद्घाटन गर्न लागिएको हो ।
नवनिर्मित मन्दिरको उद्घाटन समारोहमा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा कुँवर समाजका अगुवा बलबहादुर कुँवरसमेत सहभागी हुने जनाइएको छ ।
कुँवर समुदायको ऐतिहासिक तथा धार्मिक आस्थासँग जोडिएको बण्डाली देवताको मन्दिर नयाँ स्वरूपमा निर्माण भएपछि स्थानीयवासी तथा कुँवर समुदायमा उत्साह थपिएको छ ।
कुँवर परिवारको ऐतिहासिक पृष्ठभूमिअनुसार उनीहरूको उद्गमस्थल हालको बान्नीगढी जयगढ गाउँपालिका–३ रहेको मानिन्छ । त्यहाँबाट साँफेबगर नगरपालिका–११ प्रभा हुँदै कुँवर परिवारको एक हिस्सा चौरपाटी गाउँपालिका–४ पायल र अर्को हिस्सा ढकारी गाउँपालिका–१ डुफामा बसोबास गर्न पुगेको बताइन्छ ।
कुँवर परिवारका कुलदेवता बण्डालीको शिला सुरुमा बज्जै झोलामा रहेको र पछि इमिलिबगड भन्ने स्थानमा फेला परेको जनविश्वास छ । उक्त शिला जमिनमुनि रहेको अवस्थामा सात दिनसम्म खन्दा पनि बाहिर ननिस्किएको किंवदन्ती छ । त्यसपछि सपनामा बर्मा, टाम्के र फूलपाते लिएर आएपछि मात्रै शिला बाहिर निस्कने संकेत प्राप्त भएको बताइन्छ । सोहीअनुसार ती सामग्री लिएर जाँदा शिला आफैँ कानमा चढेको जनश्रुति छ ।
शिलालाई सिमाना माडु, डुफालगायतका स्थानमा राख्न खोज्दा नबसेको र अन्ततः हाल ढकारी गाउँपालिकाको कार्यालय नजिकै रहेको बण्डालीमाडुमा आफैँ बसेको स्थानीय जनविश्वास छ ।
बण्डाली देवतालाई तोषी देवताको जेठो हाँगोका रूपमा समेत पुज्ने गरिएको लोचक कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा लामो समयसम्म छानोबिनै देवताको पूजा गरिँदै आएको थियो । त्यसपछि पातासहितको थान निर्माण गरेर पूजा गर्ने परम्परा सुरु भएको र अहिले नयाँ मन्दिर निर्माण गरी धार्मिक विधिअनुसार उद्घाटन गर्न लागिएको हो ।
नयाँ मन्दिर निर्माणसँगै कुँवर समुदायको ऐतिहासिक धार्मिक पहिचान, कुलदेवताको परम्परा र सांस्कृतिक विरासतको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया