अछाम । भूमि प्रशासन कार्यालय अछामले जिल्लाका १० वटै स्थानीय तहलाई भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा स्थानीय तहमै सञ्चालन गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहलाई स्थानीय तहबाटै सञ्चालन गर्न कार्यालयले पत्राचार गरेको हो ।
कार्यालयले जिल्लाका मंगलसेन र साँफेबगर नगरपालिका तथा पञ्चदेवल विनायक, कमलबजार नगरपालिका, तुर्माखाँद, ढकारी, मेल्लेख, बान्नीगढी जयगढ, रामारोशन र चौरपाटी गाउँपालिकालाई पत्र पठाएको छ ।
मन्त्रालयको च.नं. ४३६, मिति २०८३/०७/१६ को पत्रअनुसार भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको पत्रमा उल्लेख छ । मन्त्रालयले एक महिनाभित्र उक्त सेवा सञ्चालन गरिसक्नुपर्ने भन्दै सूचना प्रकाशित गरेकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै स्थानीय तहलाई तोकिएको समयभित्र आवश्यक व्यवस्था मिलाउन भूमि प्रशासन कार्यालयले आग्रह गरेको हो ।
त्यस्तै, सेवा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक सहजीकरण तथा समन्वयका लागि भूमि प्रशासन कार्यालयका नायब सुब्बा दीपककुमार तिमिल्सेनालाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ ।
भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया