मंगलसेन । अछामको ढकारी गाउँपालिकाले स्थानीय नदि तथा खोलामा माछा मार्न रोक लगाएको छ । पर्यटन प्रर्वद्धन तथा जलचर संरक्षण गर्ने उद्देश्यले गाउँपालिका भित्र रहेका स्थानीय खोलाहरुमा माछा लगायत अन्य जलचर प्राणी मार्न रोक लगाईएको हो ।
गाउँ कार्यपालिकाको यही साउन २२ गतेको बैठकले आगामी वर्ष २०८४ सालको असार मसान्तसम्म लागु हुनेगरी यस्तो निर्णय गरी कार्यान्वयनका लागि सार्वजनिक रुपमा निर्देशन दिएको छ । निर्णय बमोजिम ढकारी गाउँपालिकाको वडा नम्बर २ स्थित चाइराखोलाको लामा तालदेखि दोगडेसम्म, वडा नमबर ४ को त्रिवेणी बेनीघाटदेखि लोडेघाटको चाइराखोला मिलनविन्दुसम्म तथा वडा नम्बर ७ को बडुगाडदेखि गुन्नसम्म रहेका सानाठुला खोला तथा घाटमा माछा मार्न र अन्य जलचर प्राणी मार्न तथा क्षती गर्न नपाईने भएको छ ।
यस्ता कार्य जलचर तथा जैविक विविधता संरक्षण ऐनको दफा ४६ अनुसार कसुर मानिने भएकाले यदी कसैले निर्देशन विपरित गतिविधि गरेको पाईएमा जरिवाना समेत गरिने गाउँपालिकाले जनाएको छ । यस्ता कार्यमा संलग्नलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने छ ।
पछिल्लो समय खोलामा अनियन्त्रित रुपमा भईरहने माछा मार्ने कार्यले जलचर प्राणीहरुमा क्षती हुदै आएको छ । जसले गर्दा जलिय जैविक विविधतामा समेत प्रभाव परिरहेको छ । परम्परागत रुपमा माछा मार्ने शैलीभन्दा अहिले पानीमा विष हाल्ने र करेन्ट लगाउने कार्यले साना ठुला सबै जलचर प्राणीलाई असर हुन थालेपछि गाउँपालिकाले यस्तो निर्णय गरेको ढकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश बहादुर बोहराले जानकारी दिए । वर्षायामको समयलाई माछाका लागि प्रजनन समय मानिन्छ ।











प्रतिक्रिया