अछाम । अछाम सदरमुकाम मंगलसेनमा रहेको षोडशा देवी माविमा विगत २०६७ साल देखिको आर्थिक अनियमितता छनबिनको माग उठेको छ । त्यो बेलादेखि विभिन्न समयमा विद्यालय प्रशासनबाटै आर्थिक अनियमितता भएको भन्दै त्यसको छनबिन गर्न माग उठेको हो ।
शनिबार विद्यालयले आयोजना गरेको अगुवा अभिभावक अन्तरक्रिया तथा दशैंतिहार मिलन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले आर्थिक वर्ष २०६७/६८ मा सबैभन्दा धेरै आर्थिक अनियमितता भएको र त्यसको छानबीन राजनीतिक शक्तिका आडमा कमजोर पारिएको दाबी गरे ।
तत्कालिन प्रधानाध्यापक र विद्यालय प्रशासनको मिलेमतोमा लाखौ रकम हिनामिना भएको र उक्त रकम असुलउपर गर्नेगरी दुइ/दुइ पटक कागज गरिएपनि अहिलेसम्म रकम असुल नभएको उनले बताए । आर्थिक अनियमितता गर्ने व्यक्तिलाई त्यसपछि पनि उल्टै विद्यालयको प्रधानाध्यापक बनाइएको भन्दै बोहराले अब यो विषयमा छानबिनका लागी समिति गठन गर्न वर्तमान विद्यालय प्रशासनलाई आग्र गरे ।
त्यो बेला आर्थिक वर्ष २०६७/६८ सालमा विद्यालयको प्रधानाध्यापक मदन बहादुर कुँवर थिए । बोहराले चर्को रुपमा यो कुरा उठाएपछि उक्त विषय फेरि छानबीनका लागी ब्यूँतिने सम्भावना बढेको छ । यति मात्र नभएर अहिलेपनि विद्यालय बर्बाद हुनुमा विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरुको कुनै दोष नरहेको भन्दै नगर प्रमुख बोहराले यसको प्रमुख दोषि विद्यालय आफै रहेको दाबी गरे ।
आर्थिक अनियमितता, राजनीतिक प्रभाव र शिक्षकहरुको आपसी मनमुटावकै कारण षोडशा मावि बर्बाद भएको उल्लेख गरे । विगतमा आपसी मनमुटावका कारण शिक्षकहरु समेत छुट्टाछुट्टै चार समूहमा विभाजन भएर फरकफरक समूहमा हिड्ने गरेको तितो यथार्थ सुनाए । बोहराले त्यो बेला आर्थिक मात्र नभएर विद्यालय निर्माणका क्रममा ल्याइएको काठ लगायतका अन्य सामाग्री समेत गायब पारिएको आरोप लगाए ।
यो पटक सर्पराज रिमाल प्रधानाध्यापक भएर आएपछि भने अब यी सबै विषयको छानविन तथा सुधारको आश गरेको उनले बताए । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष तथा मंगलसेन ५ का वडाध्यक्ष झंकरप्रसाद भाटले पनि विद्यालय प्रशासन पारदर्शी नरहेको बताएका छन् । उनले नक्कली बिल मिलाएर आर्थिक अनियमितता हुने गरेको उल्लेख गर्दै राम्रो कामका लागी खर्च गर्न खोज्दा आनाकानी गर्ने गरेको बताए ।
वडाध्यक्ष भाटले यसअघिका प्रधानाध्यापक बृकेश सिंह बोगटी र मंगलसेनका नगर प्रमुख बोहरा बिचको आपसी मनमुटावले त्यो बेलापनि कुनै प्रगति हुन नसकेको उल्लेख गरे ।
षोडशा माविका नवनियुक्त प्रधानाध्यापक सर्पराज रिमालले प्रस्तुत गरेको पाँच वर्षे विद्यालय सुधार रणनीति बारे सुझाब दिदै सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले विद्यार्थीको परिक्षा नतिजा सुधार तथा शिक्षक कार्यविभाजन लगायत रणनीतिमा उठाइएका कुरा निकै प्रशंसनिय रहेको भन्दै यसको कार्यान्वयनमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।
विगतमा विद्यालयको नेतृत्व गर्नेहरुले भूमिका खेल्न नसकेको भन्ने गुनासोलाई चिर्दै अब षोडशालाई नमूना विद्यालय बनाउन पहिलो सुरुवान विद्यालय प्रशासन आफैले गर्नुपर्ने र त्यसपछि आफुहरु समेत यसमा गम्भीर भएर लाग्ने रावलले बताए ।
कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, शिक्षा शाखा प्रमुख दिपक भण्डारी लगायतले पनि मन्तब्यका क्रममा सुझाब दिएका थिए । उनीहरुले प्रधानाध्यापक रिमालले प्रस्तुत गरेको रणनीतिमा उल्लेख गरिएको हालसम्मको अवस्था, आगामी चुनौति र सुधारका लागी आवश्यकता देखिएका विषयमा आफ्ना सुझाब राखेका हुन् ।
सहभागीहरुले सबैभन्दा ठुलो चुनौतिका रुपमा देखिएको लागुऔषध दुव्र्यशनी बारेपनि आवाज उठाएका छन् । षोडशा देवि मावि व्यवस्थापन समितिका सदस्य भावना केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अभिभावक र अन्य सरोकारवालाहरुले पनि मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विश्वेश्वर ढुंगानाले गरेका थिए ।











प्रतिक्रिया